अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब निक्षेप तान्दै
काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १६८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो।
राष्ट्र बैंकका अनुसार यसका लागि दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ र साँवा तथा ब्याज भुक्तानी आगामी असोज २१ गते गरिनेछ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने अधिकतम सीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव पेस गर्न सकिनेछ। बहुब्याजदरमा समेत बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। निक्षेप बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राख्दै क्रमशः रकम वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्दै बजारमा मुद्रा सन्तुलन कायम राख्न केन्द्रीय बैंकले यो कदम चालेको हो।



