‘एनसेल बिजनेस बाह्रखरी गल्फ तथा ‘इकोनोमिक सिम्पोजियम’ नवौँ संस्करण काठमाडौंमा
काठमाडौं । बाह्रखरी मिडियाले नियमितरूपमा सञ्चालन गर्दै आएको ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौं संस्करण तथा ‘इकोनोमिक सिम्पोजियम’ यसवर्ष काठमाडौंस्थित गोकर्ण गल्फ कोर्समा मे २ तारिख अर्थात् वैशाख १९, २०८३ मा हुने भएको छ ।
विगतका वर्षमा जस्तै प्रतिष्ठित व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउने, ‘इकोनोमिक सिम्पोजियम’मार्फत् मुलुकको आर्थिक अवस्थामाथि मन्थन गरेर सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहज तुल्याउने उद्देश्यले नवौं संस्करण आयोजना गरिएको हो ।
गल्फ प्रतियोगिता वैशाख १९ गते बिहान ८ बजेबाट सुरू हुनेछ । जसको उद्घाटन प्रधान सेनापति अशोकराज सिग्देलज्यूबाट हुनेछ भने ‘इकोनोमिक सिम्पोजियम’मा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यू प्रमुख अतिथि रहनुहुनेछ ।
गल्फ प्रतियोगितामा कर्पोरेट क्षेत्रको नेतृत्वमा रहेका, विभिन्न व्यावसायिक प्रतिष्ठानमा ख्यातिप्राप्त देशभित्र र बाहिरका गरी एक सय बढी गल्फरको सहभागिता रहने यहाँहरुमाझ जानकारी गराउन चाहन्छौँ ।
काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनुहुनेछ ।
कर्पोरेट क्षेत्रका अग्रणि व्यक्तित्वबीच हुने यो प्रतियोगिता देशकै प्रतिष्ठित कार्यक्रममध्येको एक भएको र यसका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले विगतका वर्षमा जस्तै ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा बीवाईडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।
प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्नेछ ।
कर्पोरेट गल्फसँगै समृद्धिका कार्ययोजना तथा निजी क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपालको आर्थिक विकास, नीति निर्माण तथा समसामयिक आर्थिक विषयहरुमा हुने सार्थक छलफलले सरकारलाई नीति निर्माण र निर्णयमा पनि सहयोग पुगोस् भन्ने चाहन्छौँ ।
विश्वव्यापीरूपमा पछिल्ला दिनमा देखा परेको आर्थिक उतारचढाव, नेपालजस्ता मुलुकलाई पार्ने असरका बारेमा ‘इकोनोमिक सिम्पोजियम’मा विचार मन्थन हुनेछ ।
‘इकोनोमिक सिम्पोजियम’मा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यू प्रमुख अतिथि, एमआईआईटी युनिभर्सिटीका चान्सलर, भारतीय नीति आयोगका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा ‘जी२० शेर्पा’ अमिताभ कान्तज्यू र निवर्तमान अर्थमन्त्री रामेश्वर खनालज्यूको विशेष सम्बोधन रहनेछ ।
साथै निजी क्षेत्रका अग्रणी व्यक्तित्वहरुले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
‘इकोनोमिक सिम्पोजियम’मा प्रतिनिधिसभाका माननीय सदस्य, विभिन्न राजनीतिक दलका नेताज्यूहरु, स्वेदश तथा विदेशबाट प्रतिनिधित्व गर्नुहुने विज्ञ, निजी क्षेत्रका अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सका प्रमुख पदाधिकारी तथा प्रतिनिधिज्यूहरु, सरकारी तहमा रहनुभएका विशिष्ट व्यक्तित्वज्यूहरु, कलाकार, कन्टेन्ट क्रियटर, पत्रकारलगायतको सहभागिता रहने छ ।
‘इकोनोमिक सिम्पोजियम’ काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमै वैशाख १९ गते बिहान १० बजेदेखि सुरू हुनेछ ।
विश्वभर कोरोनाले आक्रान्त पारेको कठिन समय होस् वा आर्थिक संकटले मुलुक समस्यामा परेको बेला, जस्तोसुकै कठिन परिस्थितिका बाबजुद पनि बाह्रखरी मिडियाले यस खेल र आर्थिक चिन्तनको अभियानलाई निरन्तरता दिँदै आएको छ । आगामी दिनमा पनि निरन्तरता पाउनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमको प्रमुख प्रायोजक विगतका वर्षहरूमा जस्तै एनसेल बिजनेस रहेको छ ।
एनसेल बिजनेसले नेपालको बिजनेस कम्युनिटीलाई उच्तस्तरको विश्वस्तरीय सेवा र कनेक्टिभिटीलगायत डिजिटाइजेसनका लागि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।
त्यसैगरी, विद्युतीय गाडी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र खुकुरी रम उत्पादक कम्पनी द नेपाल डिस्टिलरिज् प्रालि कार्यक्रममा ‘इन एसोसिएसन विथ’ अर्थात् प्रमुख सहकार्य कम्पनी रहेका छन् ।
साइमेक्स इंक बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा यसअघिका दुई वर्ष पनि प्रमुख साझेदार कम्पनी रहेको थियो । द नेपाल डिस्टिलरिज् प्रालि अघिल्लो वर्ष पनि प्रमुख साझेदार रहेको थियो ।
त्यसैगरी, जोनी वाकर (आधिकारिक बिक्रेता ग्लोबल ट्रेडिङ कन्सर्न), फोन पे, नबिल बैंक, ग्लोबल आईएमई बैंक, भाटभटेनी सुपर स्टोर्स, शिखर इन्स्योरेन्स, हिमालयन बैंक, माछापुच्छ«े बैंक, अजया डाइमन्ड, काल्र्सबर्ग, र नेपाल पर्यटन बोर्डको सहकार्य रहेको छ ।
एसोसियट पार्टनरका रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स रहेका छन् ।
बाह्रखरी मिडियाले सगरमाथा क्षेत्रको कोङ्दे रीमा चार हजार २५० मिटर उचाइमा कर्पोरेट प्रतियोगिता आयोजना गरेर विश्व रेकर्ड कायम गरिसकेको छ ।
यस वर्ष ‘एनसेल बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा गल्फ खेलाडीसहित करिब एक हजार दुई सय पाहुना उपस्थित हुनेछन् ।




