काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै
काठमाडौं । अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसर पारेर काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुने भएको छ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान तथा यसअन्तर्गतका ३५ वटा रोटरी क्लबहरू, रोटर्याक्ट डिस्ट्रिक्ट/ इन्टर्याक्ट डिस्ट्रिक्ट ३२९२, ईएसआरएजी (Environmental Sustainability Rotary Action Group) को संयुक्त आयोजनामा यही २०८२ चैत १६ र १७ गते (मार्च ३०–३१, २०२६) नेपाल कला परिषद् (NAFA), नक्सालमा प्रदर्शनी सञ्चालन गरिनेछ । यस जिरो वेस्ट एक्सिबिशन २०२६ कार्यक्रमलाई शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, United Nations Global Compact Nepal तथा Environmental Camps for Conservation Awareness (ECCA) ले समर्थन प्रदान गरेका छन् । त्यसैगरी, कार्यक्रमका सहकार्य साझेदारका रूपमा HECAF 360 तथा Blue Waste to Value आबद्ध रहेका छन्।
“परिवर्तन आफैं बनौँ—फोहोर घटाऔँ, पुनःप्रयोग गरौँ र पुनर्चक्रण अपनाऔँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको यस प्रदर्शनीले दिगो जीवनशैली र स्वच्छ वातावरण निर्माणमा नागरिक सहभागिता बढाउने लक्ष्य लिएको छ।
“रिसाइकल र अपसाइकल उद्यम प्रवर्द्धन” मुख्य उद्देश्य राखिएको कार्यक्रम बिहान ११ बजेदेखि सञ्चालन हुनेछ भने प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।
प्रदर्शनीमा फोहोर व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) तथा स्तरोन्नत पुनःप्रयोग (Upcycle) सम्बन्धी नवीन अभ्यास, प्रविधि र उद्यमहरू प्रदर्शन गरिनेछन्। यसले स्रोतको दिगो उपयोग, फोहोरको मात्रा न्यूनीकरण तथा सर्कुलर अर्थतन्त्रको अवधारणालाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीको उद्घाटन रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर रोटेरियन विनोद कोइरालाबाट हुने कार्यक्रम छ।
प्रदर्शनीको मुख्य आकर्षणका रूपमा दोस्रो दिन विशेष प्यानल छलफल कार्यक्रम पनि आयोजना गरिनेछ। “बियोन्ड द बिनः जिरो वेस्ट भविष्यका लागि प्रणाली पुनःडिजाइन” शीर्षकमा हुने उक्त छलफलमा नीति निर्माता, निजी क्षेत्र, उद्यमी तथा वातावरणविद्हरूको सहभागिता रहनेछ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेल, “ब्लु वेस्ट टु भ्यालु” का सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नविन विकास महर्जन, संयुक्त राष्ट्रसंघ – ग्लोबल कम्प्याक्ट नेपालका अध्यक्ष समिर थापा, वेप्कोकी अध्यक्ष विष्णु थकाली तथा प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मका अध्यक्ष अरुण श्रेष्ठ प्यानलिस्टका रूपमा हुनेछन् । सत्रको अध्यक्षता विभूति मान सिंहले गर्नेछन् भने सञ्चालन डा. दिनेशराज मानन्धरले गर्नेछन्। कार्यक्रममा मिस नेपाल २०२३ तथा वातावरण अभियन्ता श्रीच्छा प्रधानको बिशेष सम्बोधन समेत रहनेछ।
वातावरण तथा फोहोर व्यवस्थापन क्षेत्रमा देखिँदै आएका चुनौतीहरू—अनियन्त्रित फोहोर उत्पादन, ल्यान्डफिलमा निर्भरता, प्लास्टिक प्रदूषण तथा स्रोतको दुरुपयोग—लाई सम्बोधन गर्न यस्ता बहुपक्षीय संवाद र प्रदर्शनी अत्यन्त महत्वपूर्ण हुने आयोजकको विश्वास छ। विशेषगरी सहरी क्षेत्रमा बढ्दो फोहोर संकट न्यूनीकरणका लागि सामूहिक पहल आवश्यक रहेको सन्देश कार्यक्रमले प्रवाह गर्नेछ।
कार्यक्रममा सहभागी हुन आयोजकहरूले सबै सरोकारवाला, युवा, विद्यार्थी, उद्यमी तथा आम नागरिकलाई आग्रह गरेका छन्।
“उपभोगको शैली पुनर्विचार गरौँ, फोहोर घटाऔँ र वातावरण जोगाऔँ” भन्ने सन्देशसहित अभियानमा सहभागी हुन आह्वान गरिएको छ।
“हामी सबै मिलेर फोहोरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्न सक्छौँ र स्वच्छ भोलि निर्माण गर्न सक्छौँ,” भन्दै रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान वातावरण समितिका संयोजक रोटेरियन योगेश शाक्यले जानकारी दिए। प्रदर्शनीले हरित उद्यमलाई बजारसँग जोड्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा युवाहरूलाई दिगो जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमका मुख्य आकर्षण (Event Highlights)
• ४०–५० वटा रिसाइकल/अपसाइकल उद्यमका स्टलहरू
• क्लब तथा विभिन्न निकायका वातावरणीय प्रदर्शनी बुथहरू
• आफैं गर्ने (DIY), प्रत्यक्ष तथा विषयगत प्रदर्शनहरू
• अडियो–भिजुअल प्रस्तुतीकरण
• विज्ञ तथा सरोकारवालासँग प्यानल छलफल
• खाद्य तथा आपसी सहकार्य (फेलोशिप) गतिविधिहरू




