एकताको प्रतीक सेतो मच्छिन्द्रनाथको रथजात्रा (जनबहा: द्य: जात्रा) सुरु
सुरज शाक्य
काठमाडाैं । सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ तान्न सुरु भएको छ। जमलस्थित तीनधारा पाठशाला परिसरबाट रथ असनतर्फ तानिँदै छ।
चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने सेतो मछिन्द्रनाथको जात्रा तीन दिन मनाइन्छ। याे रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ।
आज चैत १२ गते सेतो मच्छिन्द्रनाथलाई विधिवत् रूपमा पुजारीहरूले निकालेपछि रथमा राखेर रथलाई जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइन्छ । १३ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याइनेछ । १४ साँझ ५ बजे हनुमानढोकाबाट हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पुर्याइन्छ ।
१५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्याइन्छ ।
सेतो मच्छिन्द्रनाथको मन्दिर १० औँ शताब्दीमा मल्लयुगमा निर्माण गरिएको विश्वास छ । यो मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ ।
यो जात्रा १५ औं-१७ औं शताब्दीतिर राजा प्रताप मल्लको पालामा सुरु भएको मानिन्छ, जसले उपत्यकामा शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ।
मुख्य विशेषताहरू:
अवधि: यो जात्रा सामान्यतया ३ दिनसम्म चल्छ ।
रथयात्रा: सेतो मच्छिन्द्रनाथ (आर्य अवलोकितेश्वर) को मूर्तिलाई जमलमा बनाइएको दशतले रथमा राखेर परिक्रमा गरिन्छ ।
स्थान: जात्रा जमलबाट सुरु भएर दरबारमार्ग, असन, इन्द्रचोक, हनुमानढोका हुँदै लगन चोकमा समापन हुन्छ ।
धार्मिक महत्त्व: यस जात्रामा भाग लिँदा सुख, शान्ति, र समृद्धि मिल्ने विश्वास गरिन्छ। हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले यसलाई श्रद्धापूर्वक मनाउँछन् ।
संस्कृति: रथ तान्ने कार्यमा सयौं भक्तजनहरू सहभागी हुन्छन्, जुन नेवारी संस्कृतिको एउटा महत्त्वपूर्ण पाटो हो ।
कसरी सुरु भयो सेतो मच्छिन्द्रनाथको रथजात्रा ?
सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् ।
प्राचीन कालमा काठमाडौँको जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएको कथा यो रथयात्रासँग सम्बन्धित छ । मूर्तिलाई खेतबाट निकाली घरको भकारीमा राख्दा घरमा अन्नको कमी नभएको, सुख, शान्ति, समृद्धि प्राप्त भएको र रोग ब्याधको नाश हुन थालेको थियो । मूर्ति भगवान भएको र भगवानलाई घरमा राख्दा मान मर्यादा दिन नसकिने महसुस गरेर जमलबाट मूर्तिलाई लगेर जनबहालमा राखेको विश्वाश छ । मूर्तिको स्थापना गरिएको बर्षदेखि नै मूर्ति भेट्टाएको स्थानका रुपमा रथ यात्रा जमलबाट सुरु गर्ने गरिएको छ ।
अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाकारुपमा सेतो मच्छिन्द्रनाथलाई लिइन्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्यअबलोकितेश्वर पनि हुन् ।




