सानिगाड हाइड्रोले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। जसमध्ये अहिले २८ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारेका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावितलाई छुट्याइएको कुल आईपीओमध्ये १८ लाख ५२ हजार ५०० कित्ता आयोजना अति प्रभावित क्षेत्र अर्थात बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का स्थानीय बासिन्दाले र ९ लाख ९७ हजार ५०० कित्ता प्रभावित क्षेत्र अर्थात बुंगल नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यस आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावितले चैत २२ गतेसम्म र वैदेशिक रोजगारेले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावितले बुंगल नगरपालिकास्थित कम्पनीको पावर हाउस, लक्ष्मी लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा कार्यालयका साथै ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङस्थित शाखा कार्यालयमा आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।




