होटल फरेस्ट इन नेप्सेमा सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार ?
काठमाडौं । होटल फरेस्ट इनको आइपीओ नेपाल स्टक एक्सचेन्जमा बुधबार सूचीकृत भएको छ । कम्पनीले ‘एचएफआइएन’ टिकर पाएको छ ।
होटलको २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृच भएको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड रुपैयाँको ४० लाख कित्ता सेयर निष्कासन गरेको थियो। कम्पनीले २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो भने बाँकी शेयर सस्थापक हो । संस्थापक शेयर ३ वर्षसम्म ‘लक इन’मा बस्ने प्रावधान छ ।
होटललाई नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेन्ज ९०.६५ रुपैयाँदेखि २७१.९५ सम्म दिएको छ। बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको रिलायन्स स्पिनिङ मिल्सको सुचीकरण पश्चात नेप्सेले नेटवर्थ १ सय वा सो भन्दा माथि भएमा अधिकतम ३ गुणा अर्थात ३ सय रुपैयाँसम्मको ओपनिङ रेञ्ज र नेटवर्थ १ सय भन्दा मुनि भएमा नेटवर्थको तीन गुणासम्ममा पहिलो कारोबार गर्न मिल्ने व्यवस्था गरेको थियो । केपी ओली सरकारमा नेपाली कांंग्रेसको तर्फबाट ऊर्जा मन्त्री रहेका दीपक खड्काको होटलमा मुख्य लगानी रहेको छ भने उनका श्रीमती कम्पनीको अध्यक्ष हुन् ।




