फोर्ब्स वर्ल्ड बिलियनियर्स लिस्ट सार्वजनिक, विनोद चौधरी १९८२औँ स्थानमा
काठमाडौँ । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी विश्वका धनी व्यक्तिहरूको सूचीमा १९८२औँ स्थानमा परेका छन्। अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको फोर्ब्स वर्ल्ड बिलियनियर्स लिस्ट अनुसार चौधरीको कुल सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ।
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी विश्वका धनी व्यक्तिहरूको सूचीमा २१९ स्थान तल झर्दै १९८२औँ स्थानमा परेका छन्। अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको फोर्ब्स वर्ल्ड बिलियनियर्स लिस्ट अनुसार चौधरीको कुल सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ। नेपालबाट फोर्ब्सको अर्बपति सूचीमा नियमित रूपमा देखिने उनी यसवर्ष पनि सूचीमा कायम रहन भने सफल भएका हुन्।
फोर्ब्सका अनुसार चौधरीको कुल सम्पत्ति नेपाली रुपैयाँमा करिब ३ खर्ब २ अर्ब बराबर पुगेको छ। अघिल्लो वर्ष सन् २०२५ मा भने उनी १७६३औँ स्थानमा थिए। त्यति बेला उनको सम्पत्ति करिब २ अर्ब अमेरिकी डलर बराबर रहेको उल्लेख गरिएको थियो। यस वर्ष सम्पत्ति करिब १० करोड डलरले बढे पनि विश्वका अन्य अर्ब पतिहरूको सम्पत्ति तीव्र गतिमा बढेकाले उनको र्याङ्किङ तल झरेको हो।
दक्षिण एसियामा भारतका अर्बपतिहरू बाहेक फोर्ब्सको अर्बपति सूचीमा पर्ने उनी एक मात्र व्यवसायी हुन्। सार्क क्षेत्रका पाकिस्तान,बङ्गलादेश,श्रीलङ्का,भुटान र मालदिभ्सका कुनै पनि उद्योगपति हालसम्म उक्त सूचीमा पर्न सकेका छैनन्। यस अर्थमा चौधरी दक्षिण एसियाली क्षेत्रकै विशिष्ट उद्यमीका रूपमा पनि चिनिन्छन्।
फोर्ब्सको सूचीमा चौधरीको स्थान भने समयसँगै उतारचढाव हुँदै आएको छ। सन् २०१९ मा उनी विश्वकै १३४९औँ धनी व्यक्ति बनेका थिए। त्यसपछि आएको कोभिड–१९ प्यान्डेमिकका कारण विश्वव्यापी व्यापारमा आएको मन्दीले उनको सम्पत्तिमा केही गिरावट आएको थियो। महामारीपछिको आर्थिक पुनरुत्थानसँगै उनले पुनः आफ्नो सम्पत्ति बढाउन सफल भएका हुन्।
फोर्ब्सले प्रत्येक वर्ष विश्वभरका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने गर्छ। सार्वजनिक कम्पनीहरूको सेयर मूल्य, निजी सम्पत्ति, लगानी, ऋण तथा अन्य वित्तीय सूचकका आधारमा अर्बपतिहरूको सम्पत्ति मूल्याङ्कन गरेर सूची तयार गरिन्छ। यस वर्षको सूचीमा विश्वभर हजारौँ अर्ब पतिहरू समावेश छन् र उनीहरूको संयुक्त सम्पत्ति ऐतिहासिक रूपमा उच्च स्तरमा पुगेको बताइएको छ।
यस वर्षको सूचीमा विश्वकै सबैभन्दा धनी व्यक्ति इलोन मस्क बनेका छन्। अटो मोबाइल तथा अन्तरिक्ष प्रविधि क्षेत्रसँग सम्बन्धित मस्कको सम्पत्ति ८३९ अर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ।
दोस्रो स्थानमा ल्यारी पेज रहेका छन्, जसले इन्टरनेट प्रविधि कम्पनी गुगलको सह–संस्थापकका रूपमा विश्वव्यापी पहिचान बनाएका छन्। तेस्रो स्थानमा सर्गेई ब्रिन परेका छन् भने चौथो स्थानमा जेफ बेजोस रहेका छन्। जसले ई–कमर्स कम्पनी अमेजन स्थापना गरेका हुन्।
पाँचौँ स्थानमा मार्क जुकरबर्ग रहेका छन् जो सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सका प्रमुख हुन्। छैटौँ स्थानमा ल्यारी एलिसन रहेका छन्। सातौँ स्थानमा फ्रान्सका लक्जरी उद्योगपति बर्नार्ड अर्नाल्ट परेका छन्। जसको कम्पनी एलभिएमएच विश्वकै ठुलो लक्जरी ब्रान्ड समूह मानिन्छ। आठौँ स्थानमा जेन्सेन हुआंग रहेका छन्। जसको कम्पनी एन भिडिया कृत्रिम बुद्धिमत्ता प्रविधिका चिप उत्पादनका कारण पछिल्ला वर्षहरूमा तीव्र रूपमा उक्लिएको छ। नवौँ स्थानमा चर्चित लगानीकर्ता वारेन बफेट रहेका छन् भने दसौँ स्थानमा स्पेनका उद्योगपति अमान्सियो ओर्टेगा परेका छन्। जो फेसन ब्रान्ड जाराका संस्थापक हुन्।
फोर्ब्सका अनुसार शीर्ष धनी व्यक्तिहरूमध्ये अधिकांश प्रविधि, डिजिटल सेवा तथा लक्जरी उद्योगसँग सम्बन्धित छन्। कृत्रिम बुद्धिमत्ता,सेयर बजारको वृद्धिदर तथा विश्वव्यापी प्रविधि उद्योगको विस्तारका कारण यी क्षेत्रमा सक्रिय व्यवसायीहरूको सम्पत्ति तीव्र गतिमा बढिरहेको देखिन्छ।
फोर्ब्सको सूचीमा चौधरीको विस्तृत प्रोफाइल र र्याङ्किङ हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोस्।




