मतगणना सकियो, सिट बाँडफाँटको गृहकार्यमा आयोग
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सकिएको छ । प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भइसके पनि समानुपातिकतर्फको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भैसकेको छैन ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकको मतगणना सकिएसँगै प्राप्त भएका सबै जिल्लाको निर्वाचन फारम आयोगमा प्रविष्ट गर्ने काम भइरहेको जानकारी दिए ।
उनका अनुसार फारम प्रविष्ट गर्ने र अन्तिम मत समावेश गरेको नतिजा आयोगको वेबसाइटमा अपडेट गरिनेछ । त्यसपछि समानुपातिक मतका आधारमा राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गरिनेछ । त्यसपछि दलहरूलाई आयोगले पत्र पठाउनेछ ।
‘प्राप्त मत अनुसार थ्रेसहोल्ड कटाउने र नकटाउने दल छुट्याइन्छ र त्यसपछि सिट बाँडफाँट गरिन्छ’, सहायक प्रवक्ता जिसीले भने, ‘आयोग अब यो काममा लाग्छ । सम्भव भएसम्म आजै यो प्रक्रिया टुङ्गिन्छ नत्र समय लाग्न पनि सक्छ ।’
आयोगले आफ्नो वेबसाइटमा अपडेट गरेको पछिल्लो समानुपातिक मत अन्तर्गत एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भइसकेको छ । पुरै अपडेट गर्दा यो अङ्कमा केही घटबढ हुनेछ ।
हाल आयोगले राखेको तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २३५ मत पाएको छ ।
कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख पाँच हजार ७५३, श्रम संस्कृति पार्टीले ३ ला ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२ मत पाएको छ ।




