वाईवाई प्रबद्र्धन गर्न कुनै अभियान आवस्यक छैनː चौधरी ग्रुप |
काठमाडौं । चौधरी ग्रुपले आफ्नो उत्पादन वाईवाई चाउचाउको प्रबद्र्धन गर्न कुनै पनि सामाजिक अभियानको साहयता आवस्यक नपर्ने र त्यसबारेमा कुनै योजना नरहेको प्रष्ट पारेको छ ।
चौधरी फाउन्डेसनकोसमेत साहयता भएको बलियो नेपाल अभियानसँग वाईवाईलाई जोडेर बाहिर आएका खबरमा कुनै सत्यता नभएको ग्रुपले प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।
‘विगत केही दिनदेखि “बलियो नेपाल” अभियानका सन्दर्भमा चौधरी ग्रुप र विषेशगरी वाईवाई चाउचाउको नाम जोडेर आएका खबरप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘वाइवाई चाउचाउलाई “बलियो नेपाल” अभियानमा समावेश गराउने कुनै योजना नरहेको प्रष्ट पार्न चहान्छौं । विगत ४० बर्षदेखि उत्पादन हुँदै आएको विश्वव्यापी प्रसिद्ध ब्रान्ड वाईवाईको प्रवद्र्धनका लागि कुनै अभियान आवश्यक पर्छ भन्ने हामीलाई लाग्दैन । साथै, चौधरी फाउन्डेनद्वारा संचालित कुनैपनि क्रियाकलापहरुमा कुनै किसिमको व्यवसायिक गतिविधीहरु संचालन नहुने हाम्रो स्पष्ट नीति रहेको कुरा पनि जानकारी गराउन चहान्छौँ ।’
बलियो नेपाल, नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरूको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरूको माग बृद्धि गर्ने उदेश्यका साथ स्थापित एक स्वतन्त्र गैर नाफामुलक संस्था भएको र जसको नेतृत्व स्वतन्त्र बोर्डले गर्ने उसले स्पष्ट पारेको छ ।
बलियो नेपालको विसुद्ध लक्ष्य सामाजिक सेवा तथा पोषण केन्द्रित भएकाले यसलाई चौधरी ग्रुपको व्यावसायसँग नजोड्न कम्पनीले आग्रह गरेको छ ।
‘व्यापार र प्रबद्र्धन कसरी गर्नुपर्छ त्यो हाम्रो सरोकारको विषय हो । र यसका लागि हाम्रो लामो अनुभव र संस्थागत संयन्त्र छ । हामीलाई यसैका लागि कुनै अभियानको साहरा लिनुपर्ने आवस्यक छैन’ ग्रुपद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


