मेटलाइफ नेपाल र वात्सल्य नेचुरलबीच फर्टिलिटी सेवामा विशेष छुटका लागि सहकार्य
काठमाडौँ । मेटलाइफ नेपालले आफ्ना बीमित ग्राहकहरूलाई फर्टिलिटी तथा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवामा सहज र किफायती पहुँच उपलब्ध गराउने उद्देश्यले वात्सल्य नेचुरल प्रा.लि.सँग नयाँ सहकार्यको घोषणा गरेको छ।
यस सहकार्यअन्तर्गत ‘वान बाई मेटलाइफ’ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत बीमित ग्राहकहरू तथा उनका नजिकका परिवारका सदस्यहरूले वात्सल्यको क्लिनिकहरूमा विशेष दरमा सेवा लिन सक्नेछन्।
फर्टिलिटी उपचारको यात्रामा रहेका परिवारहरूका लागि विश्वसनीय र किफायती उपचारमा पहुँच महत्त्वपूर्ण मानिन्छ। नेपालमा अझै पनि धेरै व्यक्तिहरू लागत, सामाजिक संकोच तथा पर्याप्त जानकारीको अभावका कारण फर्टिलिटी स्वास्थ्यसम्बन्धी सेवा लिन हिच्किचाउने अवस्था छ।
दुवै संस्थाबीचको यो सहकार्यले यस्ता अवरोधहरू कम गर्दै विशेषज्ञ सेवातर्फ सुरक्षित र भरोसायोग्य पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ।डिजिटल लाइफ कार्ड प्रयोगकर्ताले वात्सल्यका क्लिनिकमा कार्ड देखाएर विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
सहकार्यअन्तर्गत प्रमुख डायग्नोस्टिक परीक्षणहरूमा १५ प्रतिशत छुट, पूर्ण आईभीएफ प्याकेजमा २० हजार रुपैयाँसम्म स्थिर छुट तथा अन्य फर्टिलिटी स्वास्थ्य जाँच र परामर्श सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएको छ।
उक्त पहलले फर्टिलिटी स्वास्थ्य सेवा थप किफायती र पहुँचयोग्य बनाउने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्। गोपनीयता, सहजता र आत्मविश्वासका साथ स्वास्थ्य सेवा उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु सहकार्यको प्रमुख उद्देश्य रहेको छ।
दुवै संस्थाले परिवारको जीवनका महत्त्वपूर्ण तथा कहिलेकाहीँ चुनौतीपूर्ण क्षणमा साथ दिने साझा प्रतिबद्धता दोहोर्याउँदै यो सहकार्यले पेरेंटहुडको यात्रा तय गरिरहेका व्यक्तिहरूलाई आशा र भरोसा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।




