गृह मन्त्रालयको निर्णयको पुर्व गृहमन्त्री रविले उडाए धज्जी
काठमाडौं। रवि लामिछाने नेपाल सरकारका पुर्व गृहमन्त्री हुन्। तर उनले सायद आफू पुर्व गृहमन्त्री भएको बिर्से या गृह मन्त्रालयले गरेको निर्णयको धज्जी उढाए। दुईमा एक पक्कै भयो। उनले मंगलबार झापाको दमकमा सानका साथ ‘रुफ टप’ गाडीको प्रयोग गरे, छतमा चढे र हात हल्लाए।
गृह मन्त्रालयमा गत बिहीबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाउने निर्णय गरेको थियो। तर पुर्व गृह मन्त्री रहेका रास्वपाका सभापति रविका लागि यो निर्णय मान्य भएन। अर्थात् उनले गृहको निर्णय टेरेनन।
गृह मन्त्रालयले उम्मेदवारको असुरक्षाका कारण सो निर्णय लिएको थियो। र ‘रुफ टप’ गाडी निर्वाचन प्रचारप्रसारमा प्रयोग नगर्न नगराउन भनेको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार ‘रुफ टप भेहिकल’ प्रयोग गर्दा उम्मेदवारको सुरक्षामा जोखिम हुनसक्ने निष्कर्ष निकालिएको थियो।
`गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारकै सुरक्षालाई ध्यानमा राखेर ‘रुफ टप’ गाडी प्रयोग नगर्न भनेको हो, सरकारको निर्णय पालना भए नभएको अनुगमन हुन्छ।´ गृह प्रवक्ता काफ्लेले भने।
उम्मेदवारले निर्वाचनको प्रचारप्रसारमा धमाधम ‘रुफ टप’ गाडीको प्रयोग गर्न थालेपछि गृह मन्त्रालयले सुरक्षा खतरा औंल्याएको थियो।
रविकै दल रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले पनि यसअघि ‘रुफ टप’ गाडीको प्रयोग गर्दै आएका थिए। यस्तै देशका अन्य स्थानमा पनि रास्वपाका उम्मेदवारहरुले नै ‘रुफ टप’ गाडीलाई धेरैजसो निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्दै आइरहेका थिए। तर सरकारको निर्णयपछि भने ‘रुफ टप’ गाडीको प्रयोग घट्दै गएको पाइएको छ।




