नेपाल टेलिकमका जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट सेवा देशभर लागू
काठमाडौँ । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूले अब आफ्ना व्यक्तिगत विवरण अनलाइनमार्फत आफैं अद्यावधिक गर्न सक्ने भएका छन्।
कम्पनीमा रहेको ग्राहक विवरण (KYC – Know Your Customer) अपडेट गर्ने यो सेवा नेपाल टेलिकमको २२औं वार्षिकोत्सवको अवसरमा २०८२ माघ २२ गतेदेखि देशभर लागू गरिएको हो।
यसअघि उक्त सेवाको परीक्षण २०८२ माघ २२ गते दूरसञ्चार कार्यालयबाट सुरु गरिएको थियो। परीक्षण सफल भएपछि अब नेपाल टेलिकमका देशभरका सबै कार्यालयमार्फत यो सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
नाम वा अन्य विवरण सच्याउन आवश्यक भएका ग्राहकहरूले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन्। यस क्रममा सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गरी लगइन गर्नुपर्नेछ। ग्राहकले आफ्नो व्यक्तिगत विवरणका साथै आफूले धेरै कल गर्ने पाँच वटा मोबाइल नम्बर पनि उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
अनलाइन फारम भरेपछि विवरण प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। प्रमाणिकरणपछि नेपाल टेलिकमको प्रणालीमार्फत ग्राहक विवरण अद्यावधिक गरिनेछ।
हाल धेरै ग्राहकहरूको विवरण अद्यावधिक नभएको अवस्थामा यो सेवाले ग्राहकलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ। यसबाट अन्य सरकारी निकायमा समेत व्यक्तिगत विवरण अद्यावधिक राख्न सहयोग पुग्ने नेपाल टेलिकमले जनाएको छ।




