नेसनल प्याब्सनको केन्द्रीय समिति विस्तारित बैठक सम्पन्न, प्रविधिमैत्री शिक्षामा जोड
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को केन्द्रीय समिति तेस्रो विस्तारित बैठक राजधानी काठमाडौँमा सम्पन्न भएको छ।
माघ २४ र २५ गते दुई दिनसम्म काठमाडौँस्थित आइएनजी इमप्याटको कुमारी हल र होटल रोयल एयरपोर्टमा आयोजना गरिएको बैठकमा संगठनका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेतृत्वको सहभागिता रहेको थियो।
बैठकमा केन्द्रीय अध्यक्ष, निर्वतमान तथा पूर्व अध्यक्ष, विभिन्न आयोगका प्रमुख, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, केन्द्रीय सदस्यसहित प्रदेश र जिल्ला अध्यक्षहरू सहभागी भएका थिए। बैठकमा निजी शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशाका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
बैठकमा शिक्षा सुधारका विविध प्रस्तावहरू प्रस्तुत गरी छलफल गरिएको थियो। कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिँदै अध्यक्ष गीता क्षेत्री राणाको पहलमा आइएनजी इमप्याटसँग सहकार्य गरी अनलाइन माध्यमबाट स्पेलिङ सिकाइ कार्यक्रम शुभराम्भ गरिएको छ।
साथै, विद्यालय शिक्षामा रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० शिक्षाको प्रवर्धन, पाठ्यपुस्तक र सूचना प्रविधिको समायोजन तथा प्रि–स्कुल करिकुलम सुधारका विषयमा पनि छलफल भएको थियो।
बैठकमा आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले सार्वजनिक गर्ने चुनावी घोषणापत्रका लागि संगठनले प्रस्तुत गर्ने आधिकारिक धारणा तय गर्ने प्रस्तावमाथि पनि छलफल भएको छ।
निजी तथा आवासीय विद्यालयसँग सम्बन्धित मुद्दाहरूलाई राजनीतिक दलहरूको चुनावी एजेन्डामा समेटाउने उद्देश्यले संगठनको साझा धारणा तयार पार्ने निर्णय गरेको छ।
त्यस्तै, नेसनल प्याब्सनका पालिका, जिल्ला, प्रदेश र केन्द्रीय समितिका पदाधिकारी तथा साधारण सदस्यहरूको विवरणसहितको नामावली व्यवस्थित गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको बताइएको छ।




