अपारदर्शी रूपमा आर्थिक सहयोग र चन्दा नदिन उद्योगी, व्यवसायीलाई निर्वाचन आयोगको आग्रह
काठमाडौं । अपारदर्शी रुपमा आर्थिक सहयोग एवं चन्दा नदिन निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
उद्योगी, व्यवसायीहरुलाई बहादुरभवनस्थित कार्यालयमा नै बोलाएर आयोगका पदाधिकारीहरुले सकेसम्म बैंक खाताबाट नै कारोवार गर्न र २५ हजारभन्दा कम चन्दा दिनुपरेमा अनिवार्य रुपमा रसिद काट्न आग्रह गरेका हुन् ।
निर्वाचन आयोगले केही दिनअघि राजनीतिक दल एवं उम्मेदवारहरुका लागि बैंक खातासम्बन्धी कार्यविधि ल्याएर खाता खोल्न अनिवार्य गरेको थियो । उमेदवारहरुले खाता बाहिरबाट नगद कारोवार गर्न नपाउने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई आयोगमै बोलाएर यसपालीदेखि आर्थिक सहयोग र चन्दालाई अझ बढी पारदर्शी बनाउने प्रयास भएकाले सहयोग गरिदिन आग्रह गरिएको बताए ।
उनका अनुसार, त्यसक्रममा दल वा उम्मेदवारहरुलाई सहयोग गर्दा आफू आवद्ध कम्पनी वा फर्मको साटो व्यक्तिगत खाताबाट नै सहयोग गर्न समेत अनुरोध भएको थियो । कम्पनीबाट हुने सहयोग अरु विभिन्न शीर्षकमा देखाउने र पछि लेखा प्रणालीमा अर्कै शीर्षकमा खर्च हुने सम्भावना रहेको भन्दै आयोगले आर्थिक सहयोग र चन्दाहरु व्यक्तिगत (निजी) खाताबाट नै भुक्तानी गर्न आग्रह गरेको थियो ।
कतिपय मुलुकहरुमा निजी कम्पनीहरुले राजनीतिक दलहरुलाई दिने सहयोग र चन्दाको खर्च करमा सहुलियत हुन्छ, तर नेपालमा भने त्यस्तो व्यवस्था नभएकाले आयोगले निजी खाताबाट नै सहयोग दिन आग्रह गरेको हो ।




