धुनीवेशी र धाक्रे गाउँपालिकामा रोटरीको निःशुल्क आँखा शिविर
धादिङ । धादिङको धुनीवेशी र धाक्रेमा रोटरी क्बल अफ गोंगबुको समन्वय तथा विभिन्न रोटरी क्लबहरूको संयुक्त आयोजना र नेपाल आँखा अस्पताल तथा श्रीयसी इन्टरप्राइजेज प्रा.लिको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएको छ। शिविरमा १३ सय २१ जनाको आँखाजाँच गर्दा ९३ जनामा मोतियाबिन्दु पुष्टि भएको थियो।
माघ २० र २१ गते प्रस्तावित नगर अस्पताल, धुनिवेशी–७ मा शल्यक्रिया सम्पन्न गरिएको हो। माघ २३ गते बिरामीहरूको आँखाको पट्टी खोलेसँगै शिविर औपचारिक रूपमा समापन गरिएको थियो। ज्येष्ठ नागरिकलाई केन्द्रमा राखी सञ्चालन गरिएको यस मानवीय अभियानअन्तर्गत धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाका विभिन्न वडामा चरणबद्ध रूपमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष राजाराम फुँयालले जानकारी दिए।
छत्रदेउराली स्वास्थ्य चौकी, जीवनपुर स्वास्थ्य चौकी, नौविशेष स्वास्थ्य चौकी, केवलपुर स्वास्थ्य चौकी, कुलचन्द्र आधारभूत विद्यालय जीवनपुरलगायत स्थानहरूमा गरी कुल १३२१ जनाको आँखा परीक्षण गरिएको हो ।
पहिचान गरिएका बिरामीमध्ये ६८ जनाको सफल निःशुल्क शल्यक्रिया गरिएको छ। तत्काल शल्यक्रिया गर्न नसकिएका २४ जनामध्ये ५ जनालाई काठमाडौंस्थित नेपाल आँखा अस्पतालमा निःशुल्क उपचारका लागि रेफर गरिएको अध्यक्ष फुँयालले जानकारी दिए।
शल्यक्रिया गरिएका बिरामीमध्ये ६ जना दुवै आँखामा मोतिबिन्दुबाट पीडित थिए, जसको दुवै आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । मोतीयाविन्दु समस्याबाट ग्रसित भएका वृद्धवृद्धाले दैनिक कार्यमा समस्या भएको बताउदै शल्यक्रिया पश्चात दुवै आँखा देख्न सक्ने हुँदा खुसी हुँदै आशीर्वाद र धन्यवाद दिएका थिए। यो अभियान केवल उपचारमा सीमित नभई समाजप्रतिको उत्तरदायित्वको उदाहरण भएको अध्यक्ष फुँयालको भनाइ छ ।
क्लबले आफ्ना सदस्यले दैनिक खर्च कटौती गरेर र केही मनकारीबाट सहयोग लिएर निःशुल्क यस्ता शिविर संचालन गर्दै आएकोप्रति धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले रोटरी क्लवका सम्पुर्ण पदाधिकारीलाइ धन्यवाद दिए। यस अभियानको प्रमुख आयोजक रोटरी क्लब अफ गोङ्गबु हो भने सह–आयोजक क्लबहरूमा रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ हाइट, रोटरी क्लब अफ काठमाडौँ सर्कल, रोटरी क्लब अफ काठमाडौँ मेट्रो, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ हिमालयन गल्फर्स, रोटरी क्लब अफ काठमाडौँ डाउनटाउन तथा रोट्र्याक्ट क्लब अफ गोङ्गबु नर्थ रहेका छन्।
स्थानीय आयोजकका रूपमा धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका रहेका थिए ।




