पिंकी राईको खुलासा : अन्य पहिचानकै कारण वडाको सिफारिस मागियो
काठमाडौँ । ओखलढुङ्गा निर्वाचन क्षेत्रबाट पिंकी राई प्रत्यक्ष उम्मेदवार बनेकी छन्। देशभरका १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवार मनोनयन गर्ने ३ हजार ४०६ जना उम्मेदवारमध्ये लैङ्गिक पहिचान खुलाएर प्रत्यक्ष चुनाव लड्ने उनी एक मात्र उम्मेदवार हुन्।
लैङ्गिक पहिचान फरक भएकै कारण उम्मेदवारी दर्ताको प्रक्रियामा उनले सुरुवातमै कठिनाइ भोग्नुपर्यो। निर्वाचन कार्यालयमा मनोनयन पत्र दर्ता गराउन गाह्रो भएपछि उनले आफैँ बुझाइन्, सम्झाइन्। आवश्यक स्पष्टीकरण दिएपछि अन्ततः सहज रूपमा उनको उम्मेदवारी दर्ता भयो।
“सबैले राम्रोसँग बुझ्नुभयो, त्यसपछि प्रक्रिया सहज भयो। ओखलढुङ्गावासीले सकारात्मक रूपमा लिनुभएको छ, खुसी लाग्छ,” उनले भनिन्।
पिंकी जन्मँदा जैविक रूपमा बालक थिइन्। तर हुर्कँदै जाँदा उनी महिला स्वभावकी भइन् र आफूलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको रूपमा चिनाउँदै आएकी छन्।
जन्मका आधारमा उनले पहिला पुरुषको नागरिकता पाएकी थिइन्। तर पछि आफ्नै लैङ्गिक पहिचानअनुसार आफूलाई प्रस्तुत गर्दा परिवारले दिएको पुरुष पहिचानको नागरिकता परिवर्तन गर्दै महिलाको नागरिकता बनाएकी हुन्।
नागरिकता परिवर्तनको प्रक्रिया सजिलो थिएन। “पहिला जन्मका आधारमा बनेको पुरुषको नागरिकता थियो। पछि लैङ्गिक पहिचान फेरबदल गरेर महिलाको नागरिकता बनाएको थिएँ,” उनले भनिन्। त्यसका लागि वडाबाट सिफारिस झिकाएर, आवश्यक सबै कागजात बुझाएपछि मात्रै प्रक्रिया पूरा भएको उनले बताइन्।
उम्मेदवार मनोनयन पत्र दर्ता गर्न फरक लैङ्गिक पहिचानकै कारण वडाको सिफारिस अनिवार्य गरियो। यस प्रक्रियाकै कारण उनले दिनभर निर्वाचन कार्यालयमै समय बिताउनुपर्यो। अन्य पहिचानको एक मात्र उम्मेदवार भएकै कारण उम्मेदवारी दर्ता शुल्कमा उनले आधा छुट पाइन्।
अन्य लैङ्गिक पहिचानमा उम्मेदवारी दर्ता गर्न पाउँदा आफू निकै खुसी भएको पिंकीले सुनाइन। उनी भन्छिन्, यो खुसी सिङ्गो देशको गौरवसँग जोडिएको विषय हो।
“मेरो ओखलढुङ्गा जिल्ला फेरि ऐतिहासिक रूपमा इतिहासको पानामा नयाँ नाम लेख्न सफल भएकोमा म अझै पनि खुसी व्यक्त गर्न चाहन्छु,” उनले भनिन्।
ओखलढुंगाबासीलाई आग्रह गर्दै उनले भनिन्, “ओखलढुङ्गावासीले साथ–सपोर्ट दिनुहोला, किनभने हाम्रो ओखलढुङ्गा इतिहासमा फेरि नयाँ नाम लेख्दैछ।”
समावेशिता र समानताका लागि उम्मेदवारी दिएको बताउने पिंकीले विभिन्न राजनीतिक दलहरूसँग समर्थन पनि मागेकी छन्। श्रमशक्ति नेपालका अध्यक्ष तथा सुनसरी–१ का उम्मेदवार हर्क साम्पांगलाई एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्तले फोन गरेर समर्थनका लागि आग्रह गरेको खबर सुन्दा आफू झन् खुसी भएको उनी बताउँछिन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टीलगायतका विभिन्न राजनीतिक दलका उम्मेदवारसँग हातेमालो गरेर अघि बढ्न पनि उनले आग्रह गरेकी छन्।
“मेरा अग्रज उम्मेदवारहरूलाई यही आग्रह गर्दछु- मलाई पनि साथ–सपोर्ट दिनुहोस्, ताकि भोलिको दिनमा हामी सँगै हुन सकौँ, एकअर्कामा सहजता होस्,” उनले भनिन्।
“यो मेरो मात्र होइन, सिङ्गो नेपाल राष्ट्रका लागि केही गरिरहेका छौँ। समावेशिता र समानताका लागि तपाईँहरूले पनि मलाई साथ दिनुहुनेछ,” उनको आग्रह छ।
पिंकीले आफ्नो मात्र होइन, ओखलढुङ्गाका वास्तविक समस्याको पहिचान गर्दै समाधानका एजेन्डा पनि अघि सारेकी छन्। उनले किसानलाई नयाँ ऊर्जा र हौसला दिन चाहेको बताइन्।
“मेहनत गरेर, पसिना बगाएर उत्पादन गरेको अर्ग्यानिक वस्तुले अहिले बजार भाउ पाएको छैन,” उनले भनिन्, “विदेशी सामान भने उच्च मूल्यमा बिक्री भइरहेको छ, तर हाम्रै गाउँठाउँमा नङ्ग्रा खियाएर उत्पादन गरिएका सामग्रीले बजार भाउ पाएका छैनन्।”
किसानले उत्पादन गरेका सामग्रीको उचित बजार मूल्य सुनिश्चित गर्न विशेष पहल गर्ने प्रतिबद्धता उनले जनाएकी छन्। ओखलढुङ्गाका किसानलाई उच्च सम्मान, सहायता र हौसला आवश्यक रहेको उनको भनाइ छ।
शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा पनि उनले विशेष ध्यानाकर्षण गराएकी छन्। “ओखलढुङ्गामा सुविधा सम्पन्न अस्पतालको आवश्यकता छ,” उनले भनिन्। शिक्षामा धेरै कमजोरी रहेको उल्लेख गर्दै यस क्षेत्रमा विशेष पहल गर्ने उनले बताइन्।
ओझेलमा परेका समुदायको अधिकार संविधानमा मात्र सीमित नराखी व्यवहारिक रूपमा कार्यान्वयन गर्न लाग्ने उनले बताइन्। त्यसका लागि कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएकी छन्।
समावेशी समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी पिंकी राईको यो यात्रा सङ्घर्ष, पीडा र अवरोधबीच फुलेको कमलको फूलजस्तै बनेको छ, जसले न केवल ओखलढुङ्गाको, तर सिङ्गो देशको लोकतान्त्रिक र समावेशी अभ्यासमा नयाँ अध्याय थप्ने प्रयास गरिरहेको छ।



