नेपाल टेलिकमको ‘विन्टर अफर २०८२’ सार्वजनिक
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको सुविधा लक्षित गर्दै ‘विन्टर अफर २०८२’ सार्वजनिक गरेको छ। यसअघि सञ्चालनमा रहेको ‘अटम अफर’ अन्तर्गतका विभिन्न प्याकेजलाई ग्राहकले सकारात्मक रूपमा स्वीकार गरेपछि सोही प्याकेजलाई निरन्तरता दिँदै नयाँ अफर ल्याइएको कम्पनीले जनाएको छ।
टेलिकमका अनुसार एनटी–एनटी भ्वाइस प्याक, अलनेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डेटा तथा अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, वार्षिक अनलिमिटेड प्याक, रेन्टलसहितका पोस्टपेड प्याकेज तथा सामाजिक सञ्जाल प्याकेजहरू यथावत् रूपमा उपलब्ध रहनेछन्।
यसका साथै एनटीसी एड–अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिका लागि विशेष प्याकेज, नमस्ते वाइफाइ प्रयोगकर्ताका लागि बन्डल प्याकेज तथा एफटीटीएच अन्तर्गतका प्याकेजहरू पनि निरन्तर उपलब्ध गराइएको छ।
नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध ‘सजिलो अनलिमिटेड प्याकेज’लाई रेकुरिङ प्याकेजका रूपमा निरन्तरता दिएको छ। यसअनुसार उक्त प्याकेज प्रयोगकर्ताले प्रत्येक महिना नवीकरण गर्नुपर्ने झन्झट नहुने र प्याकेज स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ। यसअघि 14152*4# डायल गरेर मात्र लिन सकिने यो प्याकेज अब नेपाल टेलिकम एप र कम्पनीको वेबसाइटमार्फत पनि लिन सकिनेछ।
विन्टर अफर अन्तर्गतका विभिन्न प्याकेजहरू माघ ११ गतेदेखि उपलब्ध भई आगामी केही दिनसम्म सञ्चालनमा रहने टेलिकमले जनाएको छ।प्याकेज लिन ग्राहकले *1415# डायल गर्न सक्नेछन्। साथै नेपाल टेलिकम एप तथा www.ntc.net.np वेबसाइटमार्फत विस्तृत जानकारी लिन र सेवा खरिद गर्न सकिनेछ।
ग्राहकको सुविधा र आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको विन्टर अफर आकर्षक हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।



