पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज कार्यालय समयसम्म मात्र आवेदन दिन सक्ने छन् ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपसारी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानिय बासिन्दहरुका लागि सो शेयर निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
स्थानिय बासिन्दाले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैंडाकोट शाखा कार्यालय, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा कार्यालय तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।



