कसपाका संयोजक हरिकृष्ण गजुरेल र संयोजक मिराज ढुंगानाबीच ४ बुँदे सहमति
काठमाडौं। कम्युनिस्ट समाजवादी पार्टी नेपालका संयोजक हरिकृष्ण गजुरेल र संयोजक मिराज ढुंगानाको नेतृत्वमा रहेको संयुक्त जेनजी आन्दोलन समूहबीच कार्यगत एकता गर्ने विषयमा औपचारिक सहमति भएको छ। शनिबार दुवै पक्षबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै समसामयिक राजनीतिक आन्दोलनमा नयाँ सहकार्यको आधार तय भएको हो।
देश राजनीतिक,आर्थिक तथा सामाजिक रूपमा जटिल अवस्थामा पुगेको ठहर गर्दै सहमति पत्रमा दुवै पक्षले वर्तमान संकटबाट निकास खोज्न संयुक्त संघर्ष अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्। सहमतिअनुसार, सर्वपक्षीय सहमति जुटाई अन्तरिम सरकार गठनको दिशामा संघर्ष अघि बढाउने विषय पहिलो बुँदामा उल्लेख गरिएको छ। यसले विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्दै स्थिर शासन व्यवस्थातर्फ मुलुकलाई डो¥याउने अपेक्षा गरिएको छ।
दोस्रो बुँदामा संयुक्त जेनजी आन्दोलनले अघि सारेका मागहरू पूरा गराउन दुवै पक्ष संयुक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। युवा पुस्ताको असन्तुष्टि, बेरोजगारी, अवसरको अभाव र राजनीतिक प्रतिनिधित्वको सवाललाई साझा एजेन्डाका रूपमा अगाडि बढाइने जनाइएको छ।
त्यस्तै, तेस्रो बुँदामा आन्दोलन र जनताको चाहनाअनुसार संविधान संशोधन तथा पुनरावलोकन गर्ने, स्थिर सरकार निर्माण गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त संघर्ष गर्ने सहमति गरिएको छ। यसलाई दुवै पक्षले दीर्घकालीन राजनीतिक सुधारको आधारका रूपमा व्याख्या गरेका छन्।
चौथो बुँदामा सहमतिमा उल्लेख गरिएका मागहरू पूरा गराउन संयुक्त रूपमा आन्दोलन र संघर्षका कार्यक्रम अगाडि बढाउने स्पष्ट प्रतिबद्धता जनाइएको छ। आवश्यक परे चरणबद्ध आन्दोलन, दबाबमूलक कार्यक्रम र जनसमर्थन विस्तार गर्ने रणनीतिमा दुवै पक्ष एकमत भएका छन्।
सहमति पत्रमा संयुक्त जेनजी आन्दोलनका तर्फबाट संयोजक मिराज ढुंगाना र कम्युनिस्ट समाजवादी पार्टी नेपालका तर्फबाट संयोजक हरिकृष्ण गजुरेलले हस्ताक्षर गरेका छन्। दुवै जनाले सहमतिलाई वर्तमान परिस्थिति बीचको महत्वपूर्ण एकताको सुरुआत भएको बताएका छन्।
यो कार्यगत एकताले आगामी दिनमा सडक र राजनीतिक एजेन्डामा नयाँ तरंग ल्याउन सक्ने सम्भावना देखिएको छ।




