भंग भइसकेको केन्द्रीय समितिले कारबाही गर्न सक्दैन– गगन थापा
काठमाडौँ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले भंग भइसकेको केन्द्रीय समितिले आफूहरूलाई कारबाही गर्न नसकेको बताएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेपछि विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै गगनले यस्तो बताएका हुन् ।
‘विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको छ । शेरबहादुर देउवाको नेतृत्वमा रहेको कार्यसमिति भंग भइसकेको छ,’ गगनले भने, ‘मलाई नेपालको निर्वाचन आयोगप्रति विश्वास छ । ऐन-कानूनप्रति विश्वास छ । बहुमत महाधिवेशन प्रतिनिधि जम्मा भएर गरिएको निर्णयलाई निर्वाचन आयोगले त्यही ढंगले लिन्छ । यो कसको निजी कम्पनी होइन ।’
उनले आफूहरूलाई कसैले ‘भित्र छिर’ भनेर नछिरेको भन्दै र ‘जा भनेर’ नजाने बताएका छन् । उनले कारबाहीको विषय सबै सेटिङमा आएको बताए ।
‘३ बजेको समय मिलाएर, निर्वाचन आयोगलाई पत्र पठाएर सबै सेटिङमा चल्छ ? म महामन्त्री, मलाई कारबाही गर्ने रे ! स्पष्टीकरण सोध्नु पर्दैन ? निजी कम्पनीले पनि स्पष्टीकरण सोध्छ ।’



