कामना सेवा विकास बैंकद्वारा विपन्न परिवारलाई सिरक वितरण
लहान । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लहान नगरपालिका वडा नं. ५ का गरिब, दलित र अति विपन्न परिवारलाई जाडोयाममा फाइबर सिरक वितरण गरेको छ ।
बैंकका मधेश प्रदेश प्रमुख श्याम चवाईं ले स्थानीय बासिन्दाहरुलाई सिरक वितरण गरेका थिए । उनले यस प्रकारको पहलले स्थानीय जनतालाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
स्थानीयहरूले जाडोयाममा भएको यस सहयोगप्रति खुशी व्यक्त गर्दै बैंकलाई धन्यवाद दिएका छन् । वितरण कार्यक्रममा बैंकका कर्मचारी, वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष र अन्य स्थानीय पनि उपस्थित थिए ।
कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि सरोकारवालासँगको समन्वयमा यस्ता सामाजिक कार्यक्रमहरू निरन्तर जारी राख्ने जनाएको छ ।


