भीजी मोटर्सद्वारा ७ सिटर एसआरएम विद्युतीय भ्यान सार्वजनिक, ३ सय किलोमिटर रेन्ज
काठमाडौँ । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्डका विद्युतीय सवारी साधन (ईभी) को आधिकारिक विक्रेता भीजी मोटर्सले ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ। काठमाडौंको सोल्टी होटलमा आयोजित विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यानको औपचारिक अनावरण गरेका हुन्।
५० किलोवाट क्षमताको मोटर जडान गरिएको यो विद्युतीय भ्यानले एक पटकको चार्जमा करिब ३०० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। ३९ लाख रुपैयाँ मूल्य तोकिएको यो भ्यान कर्पोरेट हाउस, होटल, विद्यालय तथा अन्य व्यावसायिक प्रयोजनका लागि उपयुक्त मानिएको छ। कम्पनीका अनुसार नेपालभर ७५ भन्दा बढी चार्जिङ स्टेशन र २० भन्दा बढी सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिँदै आएको छ। साथै, यसका स्पेयर पार्ट्सको लागत अन्य विद्युतीय सवारीको तुलनामा करिब ८० प्रतिशतसम्म कम पर्ने दाबी गरिएको छ।
भ्यान सार्वजनिकसँगै भीजी मोटर्सले विद्युतीय सवारीसम्बन्धी मिथक, प्रविधि र भविष्यको प्रभावबारे कार्यशालासमेत आयोजना गरेको थियो। कार्यशालामा जोयलोङका दक्षिण एसियाली बिक्री प्रमुख जर्ज कियाओले एसआरएम र जोयलोङ सवारीसाधनको इन्जिनियरिङ गुणस्तर र विश्व बजारमा परीक्षण भइसकेको प्रविधिबारे जानकारी दिए । उनले नेपालजस्तो भौगोलिक र हावापानी विविधतायुक्त देशमा पनि यी ईभी विश्वसनीय हुने विश्वास व्यक्त गरे ।
अटोमोटिभ ईभी ड्राइभ ट्रेन विशेषज्ञ सम्राट गौतमले कमर्सियल ईभी प्रयोगले सवारीसाधनबाट हुने प्रदूषण करिब ८० प्रतिशतसम्म घटाउन सक्ने तथ्यांक प्रस्तुत गरे। कम्पनीका बिजनेस हेड चन्दन रौनियारले विद्युतीय भ्यानको लागत–लाभ विश्लेषण प्रस्तुत गर्दै सञ्चालन खर्चमा हुने उल्लेखनीय बचत र भविष्यमा उच्च रिसेल मूल्यको सम्भावनाबारे प्रकाश पारे।
भीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले आगामी दिनमा पनि प्राविधिक कार्यशाला र प्रशिक्षण कार्यक्रममार्फत विद्युतीय सवारीप्रतिको सचेतना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

