तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं: मन्त्री कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेन्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा मन्त्री घिसिङले रद्ध गरिएका ठेक्काको बाँकी कामको नापजाँच र निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्यांकन गरी तत्काल टेन्डरको नयाँ प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।
सडक विभागअन्तर्गत ठेक्का लिई अलपत्र पारिएका सडक एवं पुल निर्माणका ४३ वटा ठेक्का तोडिएको छ । ४३ वटा ठेक्काको कुल रकम दुई अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिले नै भएकाले हाल आएर समस्या नरहेको उनको भनाइ छ । यदि, समस्या देखिए अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिने उल्लेख गर्दै मन्त्री घिसिङले पुल निर्माणमा वहुवर्षीय सहमतिमा देखिएको अन्यौल हटाइने बताए ।
“तराई/मधेसमा पुल निर्माणमा धेरै समस्या देखियो, कयौं पुल अलपत्र छन्, सडकमा त निश्चित बजेट परेपछि त्यति बराबरको काम गर्न सकिन्छ,” उनले भने, “तर, पुलमा त्यसो गर्न सम्भव नै हुँदैन, त्यसैले वहुवर्षीय प्रक्रियामा नै जानुपर्छ ।”
उनले चालु आवको पहिलो त्रैमासिकमा भौतिक पूर्वाधार तथा यातायात मातहतका निकायको प्रगति कम देखिएको र अब आगामी महिनाहरूमा यसमा सुधार गर्नु पर्ने बताए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले त्रैमासिक प्रगति उत्साहजनक नभएको उल्लेख गर्दै ठेक्का तोडिएका परियोजनालाई अलपत्र नछाडी तत्काल व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।
चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायका लागि एक खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । त्यसमध्ये पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । पहिलो त्रैमासिकका लागि विनियोजित रकममध्ये ११ अर्ब ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन वार्षिक र त्रैमासिक विनियोजनका आधारमा क्रमश: ७.६७ र २४ प्रतिशत मात्र हो ।

