रामुपाको धनुषा ३ को क्षेत्रीय संयोजकमा दीपक सर्वसम्मत
जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले धनुषा निर्वाचन क्षेत्र नं. ३ का लागि दीपक झालाई क्षेत्रीय संयोजकमा सर्वसम्मत रूपमा चयन गरेको छ ।
पार्टीको क्षेत्रीय बैठकले संगठन सुदृढीकरण र क्षेत्रीय गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित झालाई संयोजकको जिम्मेवारी दिएको जनाइएको छ ।
केन्द्रीय उपाध्यक्ष तथा सो क्षेत्रका सम्भावित प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजीव झाका अनुसार नयाँ नेतृत्व चयनसँगै धनुषा–३ मा संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक गतिविधि अझ सक्रिय हुने छन् ।
नवनिर्वाचित संयोजक झाले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र कार्यक्रम जनतासम्म पु¥याउन प्रतिबद्ध भएर काम गर्ने बताए । उनले क्षेत्रका नेता, कार्यकर्ता र समर्थकलाई एकताबद्ध गर्दै पार्टीलाई मजबुत बनाउने आफ्नो प्राथमिकता रहने बताएका छन् ।
सो अवसरमा पार्टीका केन्द्रीय सचिव संजय चौधरी, अनुशासन विभाग प्रमुख संजय सिंह, राजनीतिक समिति सदस्य दीपक यादव, जिल्ला उपाध्यक्षहरू विनोद ठाकुर, जितेन्द्र पासवान र शंकर पासवान, जिल्ला सचिव कृष्ण कुमार साह र जीवन यादव, नगराइन नगरपालिका नगर संयोजक राम जीवन साह, संजीव झा लगायतको उपस्थिति रहेको थियो ।

