युएईविरुद्ध नेपालको फराकिलो जित |
काठमाडौं । यु–१९ एसिया कपको अन्तिम खेलमा नेपालले युएईविरुद्ध शानदार जित निकालेको छ । सुरुवाती दुई खेलमा पराजित हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि यो सान्त्वना जितमात्र हो ।
२८६ रनको लक्ष्य पछ्याएको युएई १२५ रनमा अलआउट भएपछि नेपालले फराकिलो जित हातपारेको थियो । युएईका ५ ब्याट्सम्यान दोहोरो अंकमा स्कोर बनाउन असफल भएका थिए ।
युएईका वृत्य अरविन्दले ३४ बलकम सर्वा्धिक २८ रन जोडेका थिए भने अलिशान शरफुले २६ बलमा २१ रनको योगदान दिए ।
नेपाललाई सहज जित दिलाउन सागर ढकालले सर्वा्धिक ३ विकेट लिएका थिए भने रशिद खान, सुर्य तामाङ र पवन सर्राफले समान २–२ विकेट लिए । कमलसिंह ऐरीले १ विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन जोडेको थियो । ओपनरद्वय रित गौतम र पवन सर्राफ दुवैजना डकआउट भएपनि रोहित पौडेल र आसिफ शेखले नेपालको इनिङ सम्हालेका थिए ।
म्यान अफ द म्याच समेत भएका कप्तान रोहितले ८४ बलमा सर्वा्धिक ६७ रन बनाउँदै अर्धशतकिय इनिङ खेलेका थिए । अर्धशतक बनाउने क्रममा रोहितले ९ चौका तथा १ छक्का प्रहार गरेका थिए । उनलाई साथ दिने क्रममा आसिफले ५३ बलमा ८ चौकाको मद्दतमा ४५ रन बनाएका थिए ।
यस्तै, सन्दीप जोराले ५३ बलमा ४८ रन, रशिद खानले ४४ बलमा ४४ रन, कमलसिंह ऐरीले २६ बलमा ४१ रन तथा कुशल मल्लले २२ बलमा २२ रनको उल्लेखनिय योगदान दिएका थिए ।
नेपालको समूहबाट बंगलादेश र आयोजक श्रीलंका यसअघि नै सेमीफाइनल प्रवेश गरि सकेका छन् ।



