आईआरजीडीडीकी अध्यक्ष डा. पराजुलीले भेटिन् एजीडीएका उपमहानिर्देशक डा. अल धाहेरीलाई
काठमाडौं । इन्टनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष डा. शर्मिला पराजुली ढकालले यूएईको अबुधाबीस्थित अनवर गर्गस डिप्लोमेटिक एकेडेमीका (एजीडीए) का उपमहानिर्देशक डा. मोहम्मद इब्राहिम अल धाहेरीस“ग भेटवार्ता गरेकी छन् ।
एजीडीए कूटनीतिक तालिम, अनुसन्धान र रणनीतिक अध्ययनका लागि युएईको अग्रणी संस्था हो । यसको शैक्षिक उत्कृष्टताका लागि प्रख्यात एजीडीएले भविष्यका कूटनीतिज्ञहरूलाई तयार पार्दछ । साथै, उक्त संस्थाले उन्नत कार्यक्रमहरू, व्यावसायिक पाठ्यक्रमहरू र नीति–उन्मुख अनुसन्धान मार्फत प्रमाण–आधारित विदेश नीतिलाई समर्थन गर्दछ । भेटवार्तामा स्पेन र ओमानको लागि पूर्वराजदूत पराजुली र डा. अल धाहेरीले कूटनीतिक तालिम, अनुसन्धान आदानप्रदान र संयुक्त शैक्षिक कार्यक्रमहरूमा सहकार्यका लागि अवसरहरूबारे छलफल गरे । उनीहरुले विदेश नीति र कूटनीतिक अध्ययन, आर्थिक कूटनीति र विकास सहयोग, संयुक्त अनुसन्धान, प्रकाशन र नीतिगत संक्षिप्त विवरण, युवा कूटनीतिज्ञ र अनुसन्धानकर्ताहरूको लागि क्षमता निर्माण कार्यक्रमहरू तथा विज्ञहरूको आदानप्रदान र विश्वव्यापी संवाद मञ्चहरूमा सहभागिताको लागि सहकार्य गर्ने विषयलाई जोड दिए ।
पूवराजदूत डा. पराजुलीले अनुसन्धान, कूटनीति र अन्तर्राष्ट्रिय साझेदारी मार्फत नेपालको विश्वव्यापी संलग्नतालाई सुदृढ पार्ने आरआईजीडीडीको लक्ष्य रहेको बताइन् । उनले एजीडीए जस्ता अग्रणी संस्थाहरूसँग नेपालको शैक्षिक र कूटनीतिक समुदायलाई जोड्ने मूल्यमा जोड दिइन् । भेटवार्तामा नेपाल–यूएई थिंक–ट्याङ्क सहयोगलाई अगाडि बढाउने र ज्ञान, कूटनीतिक अनुभव र व्यावसायिक तालिमको आदान–प्रदानलाई अघि बढाउने दिशामा महत्वपूर्ण छलफल भएको थियो । साथै, दुवै संस्थाले कूटनीतिक नेतृत्वको अर्को पुस्तालाई तयार पार्न निरन्तर भूमिकाको खेल्नेमा जोड दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

