चन्द्रागिरि केबलकार तथा रिसोर्ट भोलिदेखि पुनः सञ्चालनमा
काठमाडौं । करिब दुई महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ। भदौ २४ गते बटम स्टेशनमा भएको तोडफोडका कारण सेवा अवरुद्ध भएको थियो।
चन्द्रागिरि हिल्सले केबलकार निर्माण कम्पनी अष्ट्रियाको डोपलमेयर का उच्च प्राविधिक बोलाएर आवश्यक मर्मत, सुरक्षा परीक्षण र निरीक्षणका सबै प्रक्रिया पूरा गरी सेवा पुनः सुचारु गर्न लागेको हो। कम्पनीका अनुसार यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै सम्पूर्ण प्रणाली पुनः परीक्षण गरेर मात्रै सञ्चालनमा ल्याइएको हो।
सेवा पुनः सुरु भएपछि भक्तजन र पर्यटकले पुनः भालेश्वर महादेव मन्दिर दर्शन गर्न र रिसोर्टको आतिथ्य तथा मनोरञ्जन सेवाहरू उपभोग गर्न सक्ने भएका छन्।
चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले पुनः सञ्चालन सम्भव बनाउन खटिएको प्राविधिक टोलीप्रति आभार व्यक्त गर्दै भने, “हाम्रो टिमले चुनौतीपूर्ण अवस्थामा पनि उत्कृष्ट काम गरेको छ। भक्तजन र पर्यटकहरूले देखाएको धैर्यता र समर्थनका लागि हामी आभारी छौँ।”
सेवा बन्द हुनु अघि दैनिक करिब दुई हजार पर्यटक र भक्तजनहरूले केबलकारमार्फत यात्रा गर्ने गरेका थिए। कम्पनीले सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीय समुदायले देखाएको सहयोग र विश्वासका लागि पनि धन्यवाद व्यक्त गरेको छ।
चन्द्रागिरि हिल्स नेपालकै लोकप्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये एक हो, जहाँबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन सकिन्छ।
