भारतबाट उद्धार गरिएका १६ नेपाली बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो
 
                                                                    
                                                                काठमाडौं । छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट उद्धार गरिएका १६ नेपाली बालबालिकालाई बिहीबार अभिभावकको जिम्मा लगाइएको छ । बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, जनकपुरधामले ‘किन इण्डिया’ र रोटरी क्लब लुम्बिनी सिद्धार्थनगरको सहकार्यमा उद्धार गरिएका ती बालबालिकालाई अभिभावकको जिम्मा लगाएको हो ।
राष्ट्रिय बाल परिषद्का प्रदेश समन्वय अधिकृत सञ्जीव महतोका अनुसार उद्धार गरिएकामध्ये दुई बालिका छन् । ती बालबालिकालाई भारतका महाराष्ट्र राज्यका मुम्बई, राजधानी दिल्ली र बिहारका विभिन्न स्थानबाट उद्धार गरी बुधबार जनकपुरधाम ल्याइएको थियो ।
‘किन इण्डिया’ का निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएका बालबालिकाहरूलाई भारतको दरभंगा र मधुबनी बाल केन्द्रमा संरक्षणमा राखिएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याइएपछि बिहीबार अभिभावकको जिम्मा लगाइएको हो ।
तीमध्ये रौतहटको मदरसाबाट तीन महिनाअघि फरार भई भारत पुगेका १५ वर्षीय बालकलाई आमाको जिम्मा लगाइएको छ ।

 
                                                                     
                                                                    