मनाङ जिल्लाको पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा टुजी र फोरजी सेवा सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी आजदेखी टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरुमध्ये करिब ४ हजार ३५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
सेवा सञ्चालनमा आएसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न र पर्यटन, होटल लगायतका व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुनसमेत सहज हुने भएको छ ।
उच्च उचाइ र धेरैजसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रुलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या भैहालेमा पनि आपतकालीन उद्धार कार्यका लागि नेपाल टेलिकमको सञ्चार सुविधाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।