राष्ट्रपति समक्ष निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक विशेष समारोहमा निर्वाचन आयोगले आफ्नो उन्नाइसौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिज्यू समक्ष पेश गरेको छ।
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले वि.सं. २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म आयोगले सम्पादन गरेका मुख्य काम, कारबाही र उपलब्धिहरू समेटिएको प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यूलाई बुझाउनुभएको हो।
सो अवसरमा राष्ट्रपतिज्यूले आर्थिक वर्ष २०८१/८२ मा आयोगले गरेको कार्यप्रगति प्रति धन्यवाद व्यक्त गर्दै आगामी २०८२ फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको थियो।
प्रतिवेदन पेश गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले सो अवधिमा मतदाता नामावली दर्ता तथा अद्यावधिक, स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन, मतदाता शिक्षा र तालिम सञ्चालन, राजनीतिक दल दर्ता र अद्यावधिक लगायतका कार्य सम्पन्न गरेको जानकारी दिनुभयो।
उनले आयोगको कानूनी, संस्थागत तथा प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताउँदै आगामी प्रतिनिधि सभा निर्वाचन सफल बनाउन राजनीतिक दल र सरोकारवालाहरूको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।
कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपतिज्यूका विज्ञ सल्लाहकारहरू तथा राष्ट्रपति कार्यालयका सचिव डा. दीपक काफ्ले उपस्थित रहनुभएको थियो।