शेयर ब्रोकर लाइसेन्स तत्काल दिन बैंकर्स संघको माग |
काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरुलाई तुरुन्तै शेयर ब्रोकरेजको लाइसेन्स प्रदान गर्न माग गरेको छ । संघको बुधबार बसेको बैठकले नेपाल स्टक एक्सचेन्जमा प्रकृया पुर्याएर निवेदन दिएका बैंकहरुलाई लाइसेन्स दिन माग गर्ने निर्णय गरेको हो ।
नेपाल स्टक एक्सचेन्जले बैंकहरुलाई ब्रोकरेजलाइसेन्स जारी गर्न सूचना प्रकाशन गरेपछि बैंकहरुले सबै प्रकृया पुरा गरी सेवा प्रदानगर्न आन्तरिक तयारी समेत पुरा गरेको सन्दर्भमा लाइसेन्स दिने प्रक्रिया स्थगन गरेको भन्दै आपत्ति जनाएको छ ।
बैंकर्स संघले गतल प्रचारमा मिडिया लागेको भन्दै आपत्ति पनि जनाएको छ । केहि समयदेखि बैकिङ्ग क्षेत्रको बारेमा केहि मिडियाहरुले जनमानसमा नकरात्मक छवि फैलाउने, बैंक तथा बैंकका कर्मचारीहरुको मान–मर्यादामा ठेस पुग्ने गरी कपोकल्पित समाचार प्रकाशन गरेको संघको आरोप छ ।
यस विषयमा संघले प्रेस काउन्सिल नेपालसँग समन्वय गरी यस प्रकृतिका कपोकल्पित समाचारहरु प्रकाशनमा रोक÷कारवाही गर्न के–कसो गर्न सकिन्छ भन्ने बारे छलफल गर्ने निर्णय गरेको छ ।
संघले राष्ट्र बैंकबाट हालै जारी गरेको परिपत्रमार्फत औसत व्याजदर अन्तर गणना गर्ने विधिलगायतका अन्य कुराहरुमा गरिएको परिवर्तनले गर्दा बैंकिङ्ग क्षेत्र तथा समस्त अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावका बारेमा फेरि राष्ट्र बैंकलाई सम्झाउने पनि निर्णय गरेको छ ।
संघले राष्ट्र बैंकलाई लिखितरुपमा जानकारी गराएपछि त्यहाँका उच्चपदाधिकारीहरुका साथ यस विषयमा छलफल भई भएको समझदारी अनुसार उल्लेखित प्रावधानहरुमा संसोधनको लागि पुनः अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।



