सिटिजन्स बैंकको १९औं साधारण सभामा ५.२६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनी ग्राहकलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको ४९१औं सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।
बैठकले वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तसम्मको चुक्तापूँजी रु. १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ को ५ प्रतिशतले रु. ७३ करोड ८४ लाख ५० हजार ६४८ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले रु. ३ करोड ८८ लाख ६५ हजार ८२३ नगद लाभांश प्रस्ताव गरेको छ । यस अनुसार कुल रु. ७७ करोड ७३ लाख १६ हजार ४७१ बराबरको लाभांश वितरण हुने छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी १९औं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । २०६४ साल बैशाख ७ गतेदेखि कारोबार सुरु गरेको सिटिजन्स बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर शेयरधनीलाई लाभांश वितरण गर्दै आएको छ । हालसम्मको औसत लाभांश दर ११.८७ प्रतिशत रहेकोमा प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १०.५२ प्रतिशत पुगेको बैंकले जनाएको छ ।
हालै ‘बैंक अफ द ईयर २०२४’ उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले प्रविधिमैत्री सेवामा नयाँ प्रयोगहरू गर्दै आएको छ । यसले नेपालमै पहिलोपटक फोनपेसँग सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड, ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’, मोबाइल बैंकिङमार्फत शेयर आवेदन तथा सिआरएन नम्बर सेवा, र क्रस बैंक टेलर सुविधा सञ्चालनमा ल्याइसकेको छ ।
सिटिजन्स बैंकले हाल ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ३७ हजार ग्राहकलाई आधुनिक वित्तीय सेवा दिइरहेको छ ।