माछापुच्छ्रे बैंकको २७ औँ साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २७ औँ वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ। सभाले बैंकको आ.व. २०८१/८२ को बार्षिक प्रतिवेदन पारित गर्दै आर्थिक वर्षको खुद नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
लाभांश वितरणको ढाँचामा ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी कुल ८ प्रतिशत प्रदान गर्ने निर्णय भएको छ। यससँगै बैंक चालु आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ। नगद लाभांश दशैँ अघि नै शेयरधनीको खातामा पठाइने योजना रहेको छ।
बोनस शेयर वितरण पश्चात बैंकको कुल चुक्ता पूँजी १२ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै प्रति शेयर आम्दानी १६ रुपैयाँ २१ पैसा कायम गरेको थियो।
साधारण सभामा संस्थापक तथा साधारण शेयरधनीको उल्लेख्य सहभागिता रहेको थियो। सभाले बैंकको वित्तीय स्थिति, प्रगति र आगामी योजनाबारे छलफल गरी शेयरधनीका हितलाई ध्यानमा राख्दै निर्णयहरू पारित गरेको बताइएको छ।