काठमाडौंका सामुदायिक स्कुलमा १ हजार ६० स्मार्ट बोर्ड जडान हुने

काठमाडौ । महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा एक हजार ६० स्मार्टबोर्ड जडान हुने भएको छ ।
महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले महानगरभित्रका ८७ सामुदायिक विद्यालयमा तिहारअघि एक हजार ६० स्मार्टबोर्ड जडान गर्नेगरी महानगरले काम गरिरहेको जानकारी दिएका छन् ।
नगरप्रमुख शाहले हालसम्म ४९० स्मार्टबोर्ड जडान भइसकेको र बाँकी ५७० बोर्ड जडानका लागि बजेट निकासा भइसकेकाले तिहारअघि नै उक्त बोर्ड पनि जडान भइसक्ने बताए ।
उक्त स्मार्टबोर्ड जडान भएसँगै काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ५३ हजार विद्यार्थी लाभान्वित हुने महानगरले जनाएको छ । नगरप्रमुख शाहले महानगरको पहिलो प्राथमिकता विद्यार्थी भएको बताए ।
“विद्यार्थीमा गर्ने लगानीले मात्र उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गर्नसक्ने आधार तयार हुन्छ भन्ने कुरामा हामी स्पष्ट छौँ, यस अभियानमा सबैको अपनत्व र सहभागिता आवश्यक छ”, नगरप्रमुख शाहले भनेका छन् ।