हिमालय एअरलाइन्सको उडानमार्फत प्रधानमन्त्री ओली तिआन्जिन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको तिआन्जिनको औपचारिक भ्रमणका लागि आज बिहान हिमालय एअरलाइन्सको विशेष कूटनीतिक उडानमार्फत प्रस्थान गरेका छन् ।
यस वर्ष उड्डयन क्षेत्रमा उत्कृष्टताको एक दशक पुरा गरेको हिमालय एअरलाइन्स्ले प्रधानमन्त्री ओलीको भ्रमणलाई विशेष महत्व दिँदै यो उडान सञ्चालन गरेको हो।
प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा लगायत उच्च पदस्थ सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डल पनि उक्त टोलीमा समावेश छ।
प्रतिनिधिमण्डल सेप्टेम्बर ३, २०२५ मा हिमालय एअरलाइन्सको एयरबस ३२०–२१४ मार्फत बेइजिङ्गबाट स्वदेश फर्कने कार्यक्रम छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योंग र उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले प्रधानमन्त्री, उनकी धर्मपत्नी तथा विशिष्ट पाहुनालाई बिदाई गरेका थिए।
उक्त अवसरमा बोल्दै उपाध्यक्ष श्रेष्ठले भने, “सरकार प्रमुखको औपचारिक भ्रमणको लागि विशेष उडान सञ्चालन गर्नु हिमालय एअरलाइन्स्को लागि ठूलो गौरव हो। विगत दशकभरि नेपाललाई विश्वसँग जोड्न पाएको अवसरमा नेपाल सरकारबाट प्राप्त विश्वास र सहयोगका लागि आभार व्यक्त गर्दछौँ।”
एयरबस ३१९–११५ वायुयानले आज बिहान ७ः२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो र दिउँसो ३ः१५ बजे तिआन्जिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।
नेपालकै पहिलो र एक मात्र IOSA प्रमाणित (IATA IOSA Certified) एअरलाइन्सका रूपमा हिमालय एअरलाइन्स सुरक्षित उडान, सञ्चालन उत्कृष्टता र विश्वस्तरीय सेवाप्रति निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।