कागेश्वरी मनोहरालाई अव्वल नगरपालिका बनाउने मेयर कार्कीको प्रतिबद्धता

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गरी लैजाने आफ्नो चाहना रहेको बताएका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका वार्ड नम्वर ९ स्थित शिव सुन्दर टोल सुधार सेवा समाजको सातौ वार्षिक साधारण सभालाई आज कांडाघारीमा उद्घाटन सहित संवोधन गर्दै मेयर कार्कीले सो कुरा बताएका हुन् ।
शिक्षा, स्वास्थ्य, पिउने पानी, उद्यमशीलता र रोजगारीका क्षेत्रमा कागेश्वरी मनोहरालाई अव्वल नगरपालिका बनाउने योजना अनुसार काम भैरहेको र यसमा आफूले नगरवासीको सहयोग खोजेको उनले बताए ।
खानेपानी यस क्षेत्रको मुख्य समस्या रहेकाले चालु आर्थिक वर्षभित्र संघीय र प्रदेश सरकारको आर्थिक सहयोगमा थप स्रोतको जोहो गरी नगरका सवै टोलमा खाने पानी पुरयाउने प्रतिवद्धता समेत जनाए ।
नगरपालिकाले शिक्षाको सुधारमा पनि विशेष कार्यक्रम अघि सारेको र स्वास्थका सम्बन्धमा नगरपालिका अन्तरगत सुविधासम्पन्न अस्पताल र विशेषज्ञ दक्ष चिकित्सकबाट सेवा प्रवाह गर्नेगरी कार्य भैरहेको उनले स्पष्ट पारे । ‘हामी निजी ठूला अस्पतालले उपलव्ध गराए सरहै स्वास्थ्य सेवा र चिकित्सक सेवा दिन हरसम्भव काम गरीरहेका छौं,’ उनले भने ।
मेयर कार्कीले स्वास्थ्य वीमालाई स्थानीय जनतासम्म जोड्ने अभियानमा सहयोग गर्न स्थानीय टोल समाजहरुलाई आग्रह पनि गरे । नगरभित्र उद्यमशीलताको प्रवद्र्धनमार्फत रोजगारी सृजना, उत्पादनमा जोड दिन स्टार्टअप कार्यक्रम अगाडी बढाउन आवश्यक रहेको र यसका लागि टोल सुधार समाजमार्फत उद्यमशीलताका कार्यक्रम लैजाने योजना रहेको पनि उनले बताए ।
मेयर कार्कीले नगरपालिकाले आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य,खेलकुद लगायतका क्षेत्रमा अगाडी सारेका कार्यक्रमलाई सफल बनाउने कार्यमा सघाउन टोल समाजलाई आग्रह समेत गरे । शिक्षा, स्वास्थ्य र ठूला विकास आयोजनामा नगरपालिका आफैले र ससाना कामहरु पीपीपी र पचास÷पचासको मोडलमा लैजान सकिने उनले प्रष्ट पारे ।
मेयर कार्कीले सो अवसरमा शिव सुन्दर टोल सुधार समाजको सक्रियताको प्रशंसा गर्दै आफ्नो सधै सहयोग रहने प्रतिवद्धता जनाए ।
सो अवसरमा उनले शिव सुन्दर टोल सुधार समाज संस्थापक अध्यक्ष कृष्ण बहादुर बुढाथोकी र संस्थापक उपाध्यक्ष भोजराज आचार्यलाई सम्मानपत्र सहित सम्मानित गरे ।
समाजमा आजिवन सदस्य वन्ने करिव २७ जनालाई आजिवन सदस्यको परिचयपत्र प्रमुख अतिथि मेयर कार्कीका हातबाट हस्तान्तरण गरिएको थियो । संस्थाले समाजभित्र हरेक साल सदस्यता शुल्क संकलन गर्नुको साटो एकमुष्ठ ५ हजार रुपैया तिरेपछि आजीवन सदस्य बन्न पाउने विकल्प खुला गरेपछि धेरै टोलवासीहरु आजीवन सदस्यता लिन इच्छुक देखिएका छन् । यसरी आजीवन सदस्यबाट आएको रकमबाट एक अक्षयकोष खडा गरी त्यहीबाट आएको व्याजबाट सानातिना कामहरु गर्ने मनसायले शिव सुन्दर टोल सुधार समाजले उक्त विकल्प अघि सारेको हो ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रथम मेयर कृष्णहरी थापाले खानेपानीको समस्या समाधान गर्न तीनै तहका सरकारको सहयोग आवश्यक रहेको प्रष्ट पारे । नियमित टोल भेला राख्न र समाजलाई एक ढिक्का बनाएर काम गर्न समाज अझ बढी सक्रिय भएर लाग्न पनि उनले सुझाव दिए ।