नाडाले भन्यो-‘सबै अवरोध र चुनौती पार गर्दै उड्ने कार र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौँ आइपुग्यो’

काठमाडौँ । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै भविष्यको मोबिलिटी प्रतीक डिपाल (eVTOL) फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षित रूपमा काठमाडौं आइपुगेको छ ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ-“नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मोबिलिटी प्रतीक डिपाल, फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौँमा आइपुगेको गर्वका साथ घोषणा गर्दछ”
यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्ने नाडाले बताएको छ । नाडाले भनेको छ-‘ १७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो। यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ ।’
२०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म (१९-२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने यस ठुलो प्रदर्शनीमा सहभागी हुन नाडाले आग्रह समेत गरेको छ ।