जोशी हाइड्रोपावरको हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (साउन १५ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।



