रसुवाका सांसद आचार्यको पहलमा केरुङमा अलपत्र आज नेपाल फर्कँदै

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं रसुवाबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित ईन्जिनीयर मोहन आचार्यको पहलमा आज चीनको केरुङमा अलपत्र परेका नेपाली आज स्वदेश फर्कने भएका छन् ।
रसुवाको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीले नेपाल–चीन मितेरी पुल बगाउँदा चीनमा अलपत्र परेका नेपालीलाई सांसद आचार्यको पहलमा आज नेपाल ल्याउन लागिएको हो ।
उनीहरुलाई नेपाल फर्काउनका लागि सोमबार रसुवाबाट निर्वाचित सांसद आचार्यले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर कुटनीतिक पहल गरिदिन आग्रह गर्नुभएको थियो । सोही आग्रहबमोजिम आज त्यहाँ रहेका नेपालीलाई नेपाल फर्काउन लागिएको हो ।
नेपाल फर्कनेहरुमा मुख्य त बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पु¥याएका नेपालीहरु रहेका छन् । उनीहरुलाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरुका लागि काठमाडौंसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चीनीया भूमीमा चीन सरकारले गरेको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले नेपाल फर्काउन लागिएकोमा सवारी चालक तथा बिरामी परेका, नियमित औषधी सेवन गरिरहेका र औषधि सकिएका गरि २०० भन्दा बढी रहेको जानकारी दिए ।
बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेसी–रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।