‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’को निष्कासन समाप्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड द्वारा जारी ‘७प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ ।
कुल ३० लाख इकाईहरू, प्रत्येक १ हजारको अंकित मूल्यमा जम्मा ३ अर्ब बराबरको यो निष्कासनमा १ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन परेको थियो ।
२०८२ असार ३० देखि सावण १ सम्म खुला रहेको यो निष्कासनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले नेपाल एसबिआई बैंकको वित्तीय स्थिरता र प्रगतिप्रतिको बलियो विश्वास झल्काउँछ ।
कुल इकाईहरूमध्ये १८ लाख इकाईहरू निजी प्लेसमेन्टमार्फत र १२ लाख इकाईहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो, जसमध्ये ५ प्रतिशत (६० हजार इकाई) म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो ।
१० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा ७ प्रतिशत वार्षिक आकर्षक ब्याजदर रहेको थियो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०८२ ज्येष्ठ ७ मा यो निष्कासनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिंङ्ग लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।