सञ्चय कोषले उपलब्ध गराउने आवास कर्जा अब कनेक्ट आईपीएसबाट भुक्तानी, साढे ५ लाख लाभान्वित |
काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको सुरुवात गरेको छ । यसका लागि कोषले नेपाल क्लियरिङ हाउसको एनसीएचएल–आईपीएस तथा कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणालीहरुसँग पूर्ण रुपमा इन्टिग्रेसन गरेको छ ।
कोषको प्रशासक तुलसीप्रसाद गौतम, एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायात बैंक तथा दुबै संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा यसको सुरुवात गरिएको हो ।
आफ्ना सम्पूर्ण भुक्तानी तथा संकलनहरु सोझै बैंक खाता मार्फत गर्ने क्रममा कोषले आफ्नो धितो कर्जा स्किम अन्तर्गत स्विकृत भएको आवास कर्जाको भुक्तानी हालको लागि हिमालयन बैंक तथा एनएमबि बैंक मार्फत गर्ने भएको छ ।
लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अध्यावधि गराएको अवस्थामा स्विकृत कर्जा, नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तिय संस्थाहरुमा रहेकोे लाभग्राहीको जुनसुकै खातामा पनि रकम सोझै जम्मा गरिने छ । सेवाग्राहीले रकम प्राप्त गर्न बैंक वा कोषको कार्यालय धाउनु नपर्ने भएको छ ।
यसरी जम्मा हुने रकममध्ये दश लाख सम्मको रकम कनेक्ट आईपीएसमार्फत रियल टाइममा जम्मा हुनेछ । १० लाखभन्दा माथिको रकम एनसीएचएल–आईपीएसमार्फत सेटल्मेन्टपछि त्यही दिन वा अर्को दिन भुक्तानी गरिने व्यवस्था रहेको छ ।
कोषमा साढे पाँच लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन्।



