डा. धनञ्जय रेग्मी रास्वपामा प्रवेश

काठमाडौँ । नेपालको पर्यटन क्षेत्रका विज्ञ एवं नेपाल पर्यटन बोर्ड एनटीबीका पूर्व प्रमुख कार्यकारी अधिकृत सीइओ डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
आज रास्वपाको पार्टी कार्यालय बालाजुस्थित घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन् । पार्टीका प्रवक्ता तथा सांसद मनिष झाले रेग्मीको प्रवेशको घोषणा गरेका थिए । रास्वपाको सिद्धान्त, नीतिगत धारणा र समर्पित नेतृत्वप्रति रेग्मीले विश्वास व्यक्त गर्दै पार्टीमा सहभागी भएका जानकारी दिए ।
कार्यक्रममा सम्बोधन गर्दै डा. रेग्मीले पुराना राजनीतिक शक्तिहरूबाट मुलुकको समृद्धि सम्भव नभएको निष्कर्षमा पुगेको बताएका छन् । जीवनको धेरै समय विज्ञान, अनुसन्धान र पर्यटन विकासमा बिताएको बताउँदै अब त्यो अनुभवलाई राजनीतिको माध्यमबाट राष्ट्र निर्माणमा प्रयोग गर्ने उद्घोष गरेका छन् ।
रेग्मीले आफू यसअघिसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पार्दै अब रास्वपाको नीतिगत स्पष्टता र सदाचारी नेतृत्वप्रति भरोसा रहेकाले पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेका राज्यद्वारा नियोजित दमन र चरित्रहत्या प्रयासप्रति चिन्ता व्यक्त गर्दै उनले आफू रवि नेतृत्वप्रति पूर्ण समर्थनका साथ उभिएको घोषणा गरेका छन् ।
स्याङ्जा जिल्लामा जन्मेका डा. रेग्मी नेपालको हिमाली भूगोल, वातावरण, जलवायु परिवर्तन र पर्यटन क्षेत्रमा लामो समयदेखि अनुसन्धानरत विज्ञ हुन् । उनले जापानको होक्काइदो विश्वविद्यालयबाट Environmental Earth Science मा पीएचडी गरेका छन् । साथै उनी अमेरिकाको एरिजोना विश्वविद्यालयमा वृक्षविज्ञान [Glaciologist ) मा फेलोशिपसमेत पुरा गरिसकेका छन्।
डा. रेग्मीले नेपालका प्रमुख हिमतालहरू—जस्तै इम्जा ग्लेशियर—को संरक्षण तथा जोखिम न्युनिकरणमा न्बिअष्ययिनष्कत को रूपमा योगदान पु¥याएका छन् । उनी पर्यावरणीय अध्ययन संस्था Himalayan Research Centre (HRC) ) का संस्थापक अध्यक्षसमेत हुन्।
पर्यटन बोर्डमा पूरा कार्यकाल सफलतापूर्वक जिम्मेवारी निभाएका उनले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थानमा नेतृत्वदायी भूमिका खेलेका थिए । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने थुप्रै अभियानमा उनी अगुवाको भूमिकामा थिए ।
डा. रेग्मीले आफू पर्यटन क्षेत्रमै सक्रिय रहेपनि अब राजनीतिबाट नीति निर्माण तहमा पुगेर देशको समृद्धिको खाका कोर्न चाहेको बताएका छन् । रास्वपा नयाँ सोच, निष्ठा र नेपाली जनताको भरोसाको पर्याय बन्दै गएको छ। म पनि यही यात्राको एक हिस्सा बन्न पाउँदा गर्व लागेको छ, उनले भनेका छन् ।
उनले आगामी दिनमा पर्यटन, वातावरण, शिक्षा र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिने नीति निर्माणका एजेन्डामा आफू केन्द्रित रहने स्पष्ट पारेका छन् ।