क्वारेन्टाइन नगरी भारतबाट खसी–बोका आयात गर्न पाउनुपर्ने मासु व्यवसायीको माग |
काठमाडौं । क्वारेन्टाइन परिक्षण विना खसी–बोका आयात गर्न पाउनु पर्ने मासु व्यवसायीले माग गरेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा मासूको छलफलमा व्यवसायीले क्वारेन्टाइन परिक्षण विना मासु आयात गर्न पाउनु पर्ने माग गरेका हुन् ।
पछिल्लो समय बजारमा मासुको भाउ बढेपछि विभागले मासू व्यवसायीलाई शुक्रबार विभागमा छलफलका लागि बोलाएको थियो । नेपाल माछा मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले सरकारले भारतीय खसिबोका आयात नखोले दुई महिनापछि देशमा मासु किन्नै नपाईने बताए । उनले सरकारका कारण नै मासूको मूल्य बढेको आरोप लगाए ।
सरकारले सर्वेक्षणका नाममा किसानको गोठमा भएका ब्याउने बाख्रादेखि साना पाठासम्मको गणना गरेर खसी बोका उत्पादनमा नेपाल आत्मनिर्भर भयो भन्यो र आयात रोक्यो’, उनले भने, ‘अहिले त्यसको असर आम उपभोक्ताले खेप्नु परेको छ ।’
तराईबाट आएका सीमित खसीले मासुको माग पूर्ति नहुने व्यवसायीको भनाइ छ । थोरै नाफा खाएर मासु बेच्ने व्यापारीलाई सरकाले कालो बजारीको गरेको आरोप लगाउने गरेको व्यवसायीको भनाइ छ ।
व्यवसायीका अनुसार अहिले काठमाण्डुमा मात्र प्रतिदिन १ हजार देखि १२ सय खसी बोका आवश्यक छ तर ३ देखि ४ सय मात्र आन्तरिक उत्पादन हुन्छ ।



