विदेशी विनिमय संचितिको लक्ष्य घटाइने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय संचिति घटाएको छ । राष्ट्र बैंकले बाह्य क्षेत्रको स्थायित्वका लागि चालु आर्थिक वर्षमा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरि विदेशी विनिमय संचिति कायम गर्ने गरी मौद्रिक व्यवस्थापन गरिने बताएको छ ।
यसअघि ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने गरि विदेशी विनियम संचिति कायम गर्ने गरी मौद्रिक व्यवस्थापन गरिने राष्ट्र बैंकले बताउदै आएको थियो ।
नेपालमा निर्यातको तुलनामा आयात उच्च छ । यसले गर्दा शोधानान्तर स्थिती घाटामा छ । गत वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तार गर्ने क्रममा आयात बढ्ने हुनाले आवस्यक मौद्रिक व्यवस्थापन गरिने बताएको थियो । तेस्रो त्रैमासिक प्रतिवेदनमा राष्ट्र बैंकले वस्तु व्यापार घाटा २१.६ प्रतिशतले वृद्धि भई रु. ९९१ अर्ब ८१ करोड पुगेको उल्लेख गरेको थियो ।
सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले वृद्धि भई रु. ६५३ अर्ब १९ करोड पुगेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख थियो । यो अवधिमा आयातमा विस्तार भएकाले चालु खाता रु. २०४ अर्ब ४३ करोड र शोधनान्तर रु. ६४ अर्ब ६८ करोडले घाटामा रहेको थियो ।
यो अवस्थामा रहेको शोधनान्तर स्थितिले ९ महिनाको वस्तु आयात तथा ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम रहेको राष्ट्र बैंकले जनाएको थियो ।



