अब बैंकले बीमा पोलिसी बेच्न नपाउने |
काठमाडौं । अबदेखि बैंक तथा बित्तीय संस्थाले कर्जा दिँदा ऋणीलाई आवश्यक बाहेकको बीमा गराउन पाउने छैनन् । पछिल्लो समय बैंक वित्तीय संस्थाले ऋणीलाई अनावश्यक बीमा पोलिसी भिडाउन थालेपछि मौद्रिक नीति मार्फत नै केन्द्रीय बैंकले कडाइ गर्ने भएको हो ।
अब बैंक वित्तीय संस्थाले ऋणीले चाहेको वीमा कम्पनीबाट मात्रै बीमा गराउन पाउनेछन्। कर्जा सुरक्षणको लागि मात्रै राखिएको सम्पत्तिको ऋणीले बीमा गराउनु पर्ने छ । त्यस बाहेक अन्य कुनै पनि बीमा पोलिसी ऋणीलाई बिक्री गर्न बैंक वित्तीय संस्थालाई बन्देज गरिएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयंमले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरूप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जाको प्रत्यक्ष रूपले सम्बन्धित बीमा पोलिसीबाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिने छ ।’ सार्वजनिक मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको वेबसाइट नेपालीकरण गरिने भएको छ । सर्वसाधारणको सहजताकालागि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
स्थानीय तहमा बैकिङ् पहुँच बिस्तारकोलागि केन्द्रीय बैंक थप लचिलो भएको छ । तल्लो तहका नागरिकलाई वित्तीय पहुँच बिस्तरकालागि उसले शाखा रहित बैंकिङ सेवालाई प्राथमिकतामा राखेको छ । केन्द्रीय बैंकले स्थानीय तहका बैक पहुँच नभएका वडामा शाखा बिस्तार गर्न इजाजत नचाहिने व्यवस्था गरिदिएको छ ।
‘स्थानीय तहका सबै ६ हजार सात सय ४३ वडासम्म नै वित्तीय सेवाको पहुँच पुर्याउन बैक शाखा नभएका बडाहरूमा शाखारहित बैंक खोल्न यस बैकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिने छ ।’ सार्वजनिक मौद्रिक नीतिमा भनिएको छ ।



