दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन्छौँ: कृषिमन्त्री
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सबैलाई सम्बोधन गर्नेगरी आएको दाबी गरेका छन् ।
मंगलवार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् ।
विगतका वर्षहरूभन्दा अगामी आर्थिक वर्षको बजेट सकारात्मक ढंगबाट आएको उल्लेख गर्दै कार्यान्वयनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले बजेटले कृषि क्षेत्रको व्यापक सुधारको खाका कोरेको समेत बताए । उनले स्थानीयस्तरमा उत्पादित स्वास्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको जिकिर गरे ।
उनले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम अघि सारिने समेत बताए ।
उनले भने ‘अगामी आर्थिक वर्षको बजेट सबैलाई सम्बोधन गर्ने किसिमले आएको कारणले विगतको तुलनामा सकारात्मक रुपमा छ । यसलाई कार्यान्वयन गर्नको लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । स्थानीयस्तरमा उत्पादित स्वास्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको छ । त्यसले सकारात्मक सन्देश दिने र हामीले कार्यान्वयनमा इमानदारिताका साथ लाग्न सक्यौँ भने त्यो सम्भावना छ भन्ने सोच नेपाल सरकारले बनाएको छ । त्यसैगरी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम गरिने कुरा समेत अघि सारिएको छ । हामीले चैते धानलाई प्रवर्द्धन गर्नेगरी कुरा अघि बढाएका छौँ ।’
बजेटको सफल कार्यान्वयनको लागि सबैले एकजुट भएर अघि बढ्न जरुरी रहेको समेत बताए ।

