७२ जिल्लामा फैलियो डेंगी, काठमाडौंमा सबैभन्दा बढी संक्रमित

काठमाडौं । मनसुन लागेसँगै डेंगी संक्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगी संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्यांक अनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ संक्रमति भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगी संक्रमण पुष्टि भइसकेको छ ।
सबैभन्दा धेरै संक्रमितको संख्या काठमाडौंमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा संक्रमित भेटिएका छन् ।
ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगीलाई शून्यमा नै ल्याउने र डेंगी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए ।
उनले भने, “डेंगीको संक्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।”
डा. दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले संक्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए ।
“यो वर्ष डेंगी संक्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्यांक छैन । यद्यपि, मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन”, उनले भने ।
डा. दाहालका अनुसार सबैले डेङ्गी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेंगी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेंगी संक्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ ।
डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने गर्नुपर्छ ।
पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्यांकी, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने गर्नुपर्छ ।
यस्तै, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ । रासस