ऊर्जा क्षेत्रमा नेपाल-यूएई दीर्घकालीन सहकार्यको सम्भावना बलियो

ऊर्जामन्त्री खड्का र युएइका मन्त्रीबीच शिष्टाचार भेट
काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यको सम्भावना थप बलियो बनेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का एवं यूएईका ऊर्जा तथा दिगोपनसम्बन्धी सहायक परराष्ट्रमन्त्री अब्दुल्ला बलालाबीच भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।
सगरमाथा संवादमा सहभागी हुन नेपालको औपचारिक भ्रमणमा आउनु भएका युएइका मन्त्री बलालालाई स्वागत गर्दैै ऊर्जामन्त्री खड्काले सगरमाथा संवादमा सहभागी भएकोप्रति धन्यवाद व्यक्त गरे । उनले नेपाल र यूएईबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई ऊर्जा क्षेत्रमा सहकार्यमार्फत अझ मजबुत बनाउने अवसर आएको उल्लेख गरे । विशेषतः जलविद्युत् क्षेत्रमा नेपालसँग अपार सम्भावना रहेको बताउदै ऊर्जामन्त्री खड्काले स्वच्छ ऊर्जा उत्पादनमा यूएईलाई रणनीतिक साझेदारका रूपमा स्वागत गर्ने नेपालको चाहना रहेको बताए ।
नेपालले हाल भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सुरु गरिसकेको र यस क्षेत्रीय समन्वयलाई अझ विस्तार गर्ने प्रयास भइरहेको जानकारी दिँदै मन्त्री खड्काले स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि जलविद्युत्, नवीकरणीय ऊर्जा प्रणालीको विकास र प्रसारण प्रणालीका परियोजनाहरूमा यूएईको लगानीको अपेक्षा रहेको बताए ।
शिष्टाचार भेटका क्रममा युएइका मन्त्री महामहिम बलालाले नेपालको ऊर्जा क्षेत्रमा यूएईको गहिरो चासो रहेको र उक्त क्षेत्रमा लगानी गर्न इच्छुक रहेको धारणा व्यक्त गरे । मन्त्री बलालाले विशेषतः जलविद्युत्, सौर्य ऊर्जा, बैट्री इनर्जी स्टोरेज प्रणाली तथा प्रसारण लाइनजस्ता क्षेत्रमा यूएईले नेपालसँग सहकार्य गर्न सक्ने बताए । स्वच्छ ऊर्जा उत्पादनलाई समर्थन गर्दै उनले नेपालका विकास प्रयासमा यूएई सरकार सकारात्मक भूमिकाका साथ सहभागी हुने प्रतिबद्धता जनाएका थिए ।
महामहिमले नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रको दीर्घकालीन लक्ष्य प्राप्तिमा रचनात्मक भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गरे । भेटवार्ताले नेपाल–यूएई सम्बन्धलाई अझ मजबुत बनाउँदै ऊर्जा क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारीको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।