सगरमाथा संवादमा १२ देशबाट १७५ जना पाहुना आउने

काठमाडौं। सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा १२ बढी देशबाट एक सय ७५ जना विदेशी पाहुना आउने भएका छन् । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार कार्यक्रममा चीन र भारतबाट उच्चस्तरीय टोली आउनेछन् । त्यसरी आउने पाहुनामा संसदका उपाध्यक्ष, मन्त्री तथा सांसदहरू पनि हुनेछन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार चीनबाट नेसनल पिपल्स कंग्रेस (एनपीसी) का उपाध्यक्ष सिआयो जी आउने भएका छन् ।
भारतबाट वनमन्त्री भूपेन्द्र यादव आउने भएका छन् । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथिको रूपमा निम्ता गरेको थियो । तर, मोदीले समय नमिलेको भनेपछि भारतबाट वनमन्त्री यादव आउन लागेका हुन् । चीनबाट आउन लागेका एनपीसीका उपाध्यक्ष सिआयो जीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
मन्त्रालयका अनुसार सार्क, बिमस्टेक, वर्ल्ड बैंक, एडीबी, लस एन्ड ड्यामेज फन्ड, आईपीसीसी, यूएनएफसीसीसी, यूएन ईएससीएपी, आईआरइएन, एल्पाइन कन्भेन्सन र विकास सहयता संस्था, विश्वविद्यालय, थिंकट्यांक, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायत विदेशी प्रतिनिधि तथा दर्जनौँ स्वदेशी संगठन संस्थाहरुबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार जापानका उपविदेशमन्त्री इकुइना अकिको, बंगलादेशका सामाजिक कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयका सल्लाहकार सर्मिन सोनेया मुर्सिद भुटानका ऊर्जामन्त्री जेम छिरिङ माल्दिभ्सका पर्यटन तथा वतावरणमन्त्री थोरिक इब्राहिम अजरबैजानका प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ संयुक्त अरब इमरेट्सका ऊर्जा तथा दिगोपनाका लागि सहायक विदेशमन्त्री अब्दुला बलालालगायतका प्रतिनिधिहरू आउने भएका छन् । ओमान, कतार, ब्राजिल, इजिप्टलगायतका देशका प्रतिनिधि पनि सहभागी हुनेछन् ।