रिलायबल नेपाल लाइफ इन्सुरेन्सको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रिलायबल नेपाल लाइफ इन्सुरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ३६.८८ प्रतिशतले बढेर ४६ करोड ५७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ३४ करोड २ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद बिमा शुल्क आर्जन, लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद बिमा शुल्क आर्जन २७.१८ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी ९.५६ प्रतिशतले बढेर १ अर्ब ६ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ २ पैसाले बढेर १३ रुपैयाँ ३८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ९७ पैसा छ ।